बुटवल : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ विधिबाट भैरहवाबाट स्थायीबासीन्दा डा.लेखजंग थापालाई उम्मेदवार छानेको छ । राजनीतिक पार्टीमा चुनावी मैदानमा होमिने उम्मेदवारको टुंगो लगाउन रास्वपाले यसपाली नयाँ शैली अपनायो । उक्त शैलीलाई मतदाताहरुले मिश्रित प्रतिक्रिया दिएका छन् ।
केहीले बढी प्रजातान्तिक भएको र कतिपयले अहिलेको सूचना र प्रविधिको युगमा सवैले जान्न, छान्न पाउने गरी उम्मेदवार चुनेको भन्दै प्रशंसा पनि गरेका छन् । मतदाताको यिनै क्रिया प्रतिक्रियाको बीचबाट चुनावी मैदानमा होमिन उम्मेदवार छनौट भएका लेखजंग थापा को हुन् ? भन्ने आम नागरिकलाई मनमा लागेको विषय हो ।
सिद्धार्थनगर नगरपालिका–९ अञ्चलपुरमा जन्मिएका डा. लेखजंग थापा स्वास्थ्यकर्मी हुन् । हाल उनी वरिष्ठ न्युरोलोजिष्ट डाक्टरको रुपमा कार्यरत छन् । नेपाली न्युरो साइन्सको विकास र बिरामी उपचारमा १६ वर्षभन्दा बढी समय बिताएका थापा अभियन्तासँगै सामाजिक व्यक्तित्वको रुपमा समेत उनलाई चिन्ने गर्छन् ।
पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी र कलेज अफ मेडिकल साइन्सेज चितवनबाट डीएम न्यूरोलोजी अध्ययन गरेका थापा अमेरिकाको प्रसिद्ध हार्वार्ड विश्वविद्यालयको ‘सेफ्टी क्वालिटी लिडरसीप एण्ड इन्फमेटिभ’का ग्राजुएट्स समेत हुन् ।
उनी अनुसन्धानकर्मी समेत हुन् । उनका ८० वटाभन्दा बढी अनुसन्धानात्मक पेपरहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित छन् । जसले अन्तर्राष्ट्रिय जगतमा उनको बेग्लै पहिचानसमेत बनाएको छ । नेपाल स्ट्रोक एशोसिएसनका संस्थापक अध्यक्षसमेत रहेका थापाले स्ट्रोकको उपचार, निदान र सचेतनामा अतुलनीय योगदान पुर्याएका छन् । उनकै टीमको पहलमा बनाइएको राष्ट्रिय स्ट्रोक उपचार व्यवस्थापन प्रोटोकलसमेत केही दिन अघि जारी भएको छ । जसलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत स्वीकृत गरेको छ । यो प्रोटोकल नेपालको स्ट्रोक उपचार व्यवस्थापनमा कोशेढुंगा बन्ने देखिन्छ ।
अन्तर्राष्ट्रिय जगतको समेत विश्वास जितेर अलग्गै पहिचान बनाएका डा. थापाले आफ्नै पहलमा नेपालका हजारौँ चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरुलाई ‘स्ट्रोक मास्टर क्लास’ मार्फत स्ट्रोकको पहिचान, उपचार र सचेतनासम्बन्धि तालिम दिँदै आएका छन् ।
थापा काठमाडौंको व्यस्त जीवनशैलीलाई छल्दैं डेढ दशकयता हप्ताको दुई दिन जन्मभूमी भैरहवामा पुगेर बिरामीको सेवा गर्दै आएका छन् । हेल्थ क्याम्पद्वारा रुपन्देहीका विभिन्न ठाउँमा आफूले स्वास्थ्य सेवा दिँदै आएको थापाले बताएका छन् । थापाले भैरहवाका सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्ति कोषसमेत स्थापना गरेका छन् ।
उम्मेदवारमा छनौट भएपछि रोगको उपचारमा व्यस्त आफूले अब देशको उपचार गर्ने बाटोतर्फ अग्रसर हुने प्रतिक्रिया दिएका छन् । मुलुकलाई सुशासनसहितको सामाजिक न्याय, विकास र समृद्धिको बाटोमा लैजाने अठोटका साथ आफू राजनीतिमा होमिएको उनको प्रतिक्रिया छ । थापा भैरहवाका युवाहरुका बीचमा समेत लोकप्रिय मानिन्छन् ।
उनी फूटवल खेलाडी समेत हुन् । देशको अवस्था परिवर्तन गर्न नीतिगत परिवर्तन प्रमुख कुरा रहेको उनको बुझाई छ । ‘डाक्टर मात्र भएमा बढीमा चार पाँच नागरिकको पीडामा साथ दिन सकुला’,थापा भन्छन्,‘तर, देशको नीति बदल्ने ठाउँमा पुगेभने करोडौं नागरिकको घाउँमा मल्हम लगाउन सक्छु । त्यसैले म तीन वर्षदेखि निरन्तर राजनीतिमा सक्रिय छु ।’