बुटवल : जेन–जी आन्दोलनको क्रममा अर्घाखाँची सन्धिखर्कस्थित मुख्यमन्त्री आचार्यको निवासमा समेत आगजनी भएको थियो । घर जलेर खरानी बनेको र बाससमेत गुमाएका मुख्यमन्त्री आचार्यले अरू पीडितको दुःखमा साथ दिइरहेका छन् ।
‘खरानीको थुप्रोबाहेक अरू केही छैन । तर मेरो पीडालाई ठूलो ठान्न चाहन्न । प्रदेशभरि धेरैको घर जलेका छन् । सरकारी कार्यालय खरानी बनेका छन् । ती सेवाहरू पुनः सञ्चालन गर्नु जरुरी छ’ उनले भने, ‘जनताको काम एकछिन पनि रोकिनु हुँदैन भन्नेमा हामी गम्भीर छौं । त्यसअनुसार काम अघि बढिसकेको छ ।’
मुख्यमन्त्री आचार्य आगलागीले जलेर खरानी भएका भौतिक संरचनाहरुको विभिन्न जिल्लामा पुगेर स्थलगत निरीक्षण समेत गरेका छन् । निरीक्षणको क्रममा आचार्यले आगलागी गर्ने समूह जेनजी नभएर अराजकहरुको भीड रहेको समेत निष्कर्ष निकालेका छन् ।
पुनर्निर्माणमा प्रदेश सरकारको सहयोग
लुम्बिनी प्रदेश सरकारले आन्दोलनका क्रममा ध्वस्त भएका कार्यालयहरूको सेवा प्रवाहलाई अघि बढाउन आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । रुपन्देही, कपिलवस्तु, दाङ र बाँके जिल्ला अदालतलाई प्रतिअदालत ५ लाख, उच्च अदालत तुलसीपुर, बुटवल र नेपालगञ्ज इजलासलाई प्रतिअदालत ६ लाख, उच्च सरकारी वकिल कार्यालय बुटवल, तुलसीपुर र नेपालगञ्जलाई प्रतिकार्यालय ५ लाख, मालपोत कार्यालय तुलसीपुरलाई २ लाख, कारागार कार्यालय तुलसीपुरलाई १ लाख, जिल्ला सरकारी वकिल कार्यालय रुपन्देही र दाङलाई प्रति कार्यालय ४ लाख, जिल्ला प्रशासन कार्यालय बाँकेलाई ५ लाख, नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशलाई ३ लाख उपलब्ध गराउने निर्णय भएको छ ।
प्रदेश सरकारले संरचना र सेवा प्रभावित भएकाले राहतमार्फत पुनःस्थापना र सहज सेवा प्रवाहका लागि सहयोग गरिएको स्पष्ट पारेको छ ।