प्यूठान : राजनीतिक दलहरुले आफ्ना कमीकमजोरी सच्चाएर अघि बढ्नुपर्नेमा प्यूठानका सरोकारवाला निकायहरुले सुझाव दिएका छन् । प्रेस चौतारी नेपाल प्यूठानले दशै तथा तिहारको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले यस्तो सुझाव दिए । दलहरुका कतिपय गल्ती कमजोरीका कारण मुलुकमा अहिलेको अवस्था सृजना भएको उनीहरुको टिप्पणी छ । उनीहरुले राजनीतिक दलहरुले गरेका कमी कमजोरीलाई सच्याउदै अगाडी बढ्नुपर्ने तत्कालको खाँचो रहेको समेत औल्याए ।
जुम्री स्थित होटल व्यवसायी संघ प्यूठानको सभाहलमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बोल्ने बत्ताहरुले देशको पछिल्लो अवस्थाको बारेमा चर्चा गर्दै राष्ट्र र राष्ट्रियता जोगाउन सवैले भूमिका खेल्नुपर्ने बताएका थिए । वर्तमान अवस्थामा सवै पक्ष निर्धारित समयमै निर्वाचन गरेर नयाँ जननिर्वाचित प्रतिनिधिलाई सरकार हस्तान्तरण गर्नेतर्फ ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिएका छन ।
कतिपय वक्ताले मुलुकमा अराजकता निम्त्याउन कतिपय तत्वले भित्री रुपमा खेल खेलेको आरोप समेत लगाए । उनीहरुले दल विहिन राज्य बनाउन विदेशी शक्ति समेत परिचालन भएको दावी गरेका थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य तुल्सीराम शर्मा, नीमा गिरी, जिल्ला स्थित राजनीतिक दलका प्रमुख, विभिन्न स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुख, सरकार तथा गैर सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार महासंघ सहित विभिन्न पत्रकार संघ संगठनका प्रमुख तथा प्रतिनिधिको उपस्थिती रहेको थियो ।
प्रेस चौतारी प्यूठानका अध्यक्ष बासुदेव गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पूर्व अध्यक्ष विजय सिंह भारती र सञ्चालन उपाध्यक्ष राम बहादुर विश्वकर्माले गरेका थिए । सहभागीहरुले एक आपसमा शुभकामना साटासाट समेत गरेका थिए । अहिलेको विषम अवस्थामा चौतारीले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेकोमा अतिथीहरुले आभार प्रकट समेत गरे । देशको पछिल्लो संकटले सुनसान भएको राजनीतिक दलका गतिविधिका बीचमा चौतारीले जमघटको व्यवस्था मिलाएकोमा सवैले धन्यवाद समेत व्यक्त गरे ।