प्यूठान : प्यूठान नगरपालिकाले नगर क्षेत्रभित्र बढ्दो सवारी चापलाई व्यवस्थापन गर्न तथा मुख्य सडकलाई व्यवस्थित बनाउने उद्देश्यले ‘पिक एण्ड ड्रप सिस्टम’ लागू गर्ने निर्णय गरेको छ । २०८२ मंसिर १६ गते बसेको नगर क्षेत्रभित्रको यातायात व्यवस्थापनसम्बन्धी सर्वपक्षीय बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्दै नगरपालिकाले ती निर्णयहरू तत्काल कार्यान्वयनमा लैजान सम्बन्धित निकायलाई पत्राचार गरिसकेको प्यूठान नगरपालिकाका नगरउपप्रमुख देबेन्द्र बर्माले जानकारी दिए ।
बैठकको निर्णयअनुसार अब जुम्री–बिजुवार–बाग्दुला क्षेत्रलगायत मुख्य बजार क्षेत्रमा यात्रुवाहक सवारी साधनहरूले यात्रु चढाउने र ओराल्ने कार्य १० मिनेटभन्दा बढी गर्न नपाउने व्यवस्था गरिएको छ । यससँगै सबै यात्रुवाहक सवारी साधन बसपार्कबाटै सञ्चालन हुने र सडकमा लामो समय रोकिन नपाइने गरी lks P08 8«k लागू गरिने निर्णय लिएको उपमेयर वर्माले बताए ।
त्यसैगरी, नगर क्षेत्रका मुख्य सडकमा बिहान ९ बजेदेखि साँझ ४ः३० बजेसम्म मालवाहक सवारी साधनद्वारा सामान लोड तथा अनलोड गर्न नपाइने निर्णय गरिएको छ । सडक तथा बजार क्षेत्रको सौन्दर्य र आवागमन सहज बनाउन सटरदेखि बाहिरी पेटी मिचेर राखिएका सामान तथा स्टलहरू हटाइने, साथै रातो प्लेटका निजी सवारी साधनमार्फत यात्रु ओसारपसार गर्न पूर्ण रूपमा रोक लगाइने निर्णय पनि गरिएको छ। त्यस्ता सवारी साधनलाई चोक तथा भीडभाड हुने स्थानमा रोक्नसमेत निषेध गरिएको छ ।
यस्तै, क्वाडी, जुम्री, बिजुवार, बाग्दुला लगायतका मुख्य सडक क्षेत्रमा सञ्चालनमा रहेका टिकट काउन्टरहरू तत्काल हटाई बसपार्कभित्रै व्यवस्थापन गरिने निर्णय गरिएको छ । पिक एण्ड ड्रप सिस्टमलाई कडाइका साथ लागु गरिने प्यूठान प्रहरी प्रमुख डिएसपी नरहरी अधिकारीले बताए । ‘जिल्लाको अति व्यस्त मानिने बाग्दुला र बिजुवार बजार क्षेत्रमा यत्रछत्र हुने सवारी पार्किङलाई निषेध गर्छौं’, अधिकारीले भने, ‘यस सिस्टमले सम्भावित दुर्घटनाको जोखिमलाई समेत कम गराउने विश्वास लिएका छौं ।’
उक्त बैठकमा प्युठान नगरपालिकाका नगरप्रमुख विष्णुबहादुर योगी, उपप्रमुख देवेन्द्र बर्मा, प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खनाल, प्रहरी नायब उपरीक्षक नरहरी अधिकारी, वडा नम्बर १ देखि १० सम्मका वडा अध्यक्षहरू, नगर कार्यपालिका सदस्यहरू, यातायात व्यवसायी, उद्योग वाणिज्य संघ तथा विभिन्न संघसंस्थाका प्रतिनिधि र बजार क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
नगरपालिकाले यी निर्णयहरूको प्रभावकारी कार्यान्वयनबाट नगर क्षेत्रको ट्राफिक व्यवस्थापन सुधार हुने, सडक अनुशासन कायम हुने र आम नागरिकलाई सहज आवागमनको सुविधा मिल्ने विश्वास लिएको छ ।