काठमाण्डौँ : क्रियाशील महिला पत्रकारहरूको संस्था ‘डब्लुडब्लुजे’ले संसदीय मामिलामा पत्रकारिता गर्ने पत्रकार महिलाहरुका लागि खोजमुलक तालिम संचालन गरेको छ । आइतवारदेखि काठमाण्डौँमा शुरु भएको तालिम तीन दिनसम्म चल्ने छ ।
पछिल्लो समय संसदीय मामिलामा खोजी पत्रकारिता गर्ने महिला पत्रकारहरुको आकर्षणमा कमी हुँदै गएकाले महिलाहरुको आकर्षण बढाउने उद्देश्यले तालिम संचालन गरिएको डब्लुडब्लुजेका केन्द्रीय अध्यक्ष रामकला खड्काले जानकारी दिइन् ।

सन् २००६ देखि पत्रकार महिलाहरुको क्षमता अभिवृद्धि गर्दै नेतृत्व तहसम्म पुर्याउने उद्देश्यले संस्थाले विभिन्न तालिमहरु संचालन गर्दै आइरहेको खड्काले बताइन । आगामी दिनमा संसदीय व्यवस्था, प्रक्रिया, प्रणालीका साथै अनियमितता, बजेट दुरुपयोग, विकास आयोजना पर्ने प्रभाव, सांसदहरुलाइ प्रलोभनमा पारेर बन्ने गरेका कानून लगायत विषयमा खोजी रिर्पोटिङ गर्न तालिम फलदायी हुने अपेक्षा राखिएको उनको भनाई छ ।
तालिममा संसदीय रिपोर्टिङमा लामो समयदेखि अनुभव संगालेका नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष समेत रहेका शिव गाउँले सहित राजेन्द्र फुयाँल, डा.जगत नेपाल, नम्रता शर्मा र नरेन्द्र साउदले प्रशिक्षित गरेका छन् । खोज पत्रकारिताको नैतिक मापदण्ड, संसद सचिवालयका मुख्य जिम्मेवारीहरु, संसदको संरचना, प्रक्रिया, संसदीय पत्रकारिताका अभ्यासहरुका बारेमा समेत प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।

पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समेत संसदमा लैङ्गिक मुद्दाको उठानमा सञ्चारमाध्यमको भुमिका, दलगत ह्विप र सांसदको स्वतन्त्रता, लगायतका विषयमा अनुभवसहितका प्रस्तुति राख्ने कार्यसूची छ । तालिममा संसदको रिपोर्टिङ गर्दै आएका ३० जना पत्रकार महिलाहरुको सहभागीता रहेको डब्लु डब्लुजेकी सचिव रुक्मिणी पोखरेलले जानकारी दिइन ।
