प्यूठान : झिमरुक गाउँपालिकामा संचालित पाँचौ राष्ट्रपति रनिङ्गशिल्डको उपाधी बालशिक्षा मावी मच्छिले हाता पारेको छ । पुस १० गतेदेखि संचालन गरिएको विभिन्न प्रतियोगिता आइतवार सम्पन्न भएको छ ।
बालशिक्षा मावीले ८ स्वर्ण र ८ कास्य पदक जितेको छ । त्यस्तै, सत्य मावि तुषाराले ७ स्वर्ण, ६ रजत र ३ कास्य पदक जित्यो भने बलभद्र मवि बाँदीकोटले ५ स्वर्ण, ३ रजत र ६ कास्य पदक जितेको छ ।

रनिङ्गशिल्ड प्रतियोगितामा गाउँपालिकाका १२ वटा विद्यालयहरु सहभागी भएका थिए । विभिन्न विधामा संचालन गरिएको प्रतियोगितामा ८ सय ३५ जना खेलाडीहरुले भाग लिएका थिए । बालशिक्षा मावी मार्चपासमा समेत प्रथम भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै पालिका अध्यक्ष क्षेत्रीले खेलकुद केवल प्रतिस्पर्धा मात्र नभई राष्ट्र निर्माणका लागि सक्षम, अनुशासित र ऊर्जावान युवा उत्पादन गर्ने गतिलो माध्यम समेत भएको उल्लेख गरे । उनले आगामी दिनहरूमा समेत विद्यालयस्तरीय खेलकुदको प्रवद्र्धन र विकासका लागि निरन्तर प्रतिबद्ध रहने उल्लेख गरे ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई गाउँपालिकाले विद्यार्थीको प्रतिभा पहिचान, प्रतिस्पर्धात्मक क्षमताको विकास, नेतृत्व निर्माण र विद्यालयबीचको सहकार्य सुदृढ गर्ने महत्वपूर्ण कार्यक्रमको रूपमा अगाडी बढाइरहेको छ । गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवाल लगायतले बोल्दै खेल क्षेत्रका विकास र प्रवद्र्धनका लागि पालिकाले ठोस नीति र कार्यक्रम बनाएर अघि बढिरहेको बताए ।