प्यूठान : नेपाली कांग्रेस प्यूठानमा विशेष महाधिवेशनको विषयलाई लिएर आन्तरिक राजनीति तातेको छ । जिल्लाबाट महाधिवेशन प्रतिनिधित्व गर्ने नेताहरूमध्ये हालसम्म ८ जना विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । प्रतिनिधिसभामा एक सिट रहेको प्यूठान निर्वाचन क्षेत्रबाट कुल २५ जना महाधिवेशन प्रतिनिधि रहने व्यवस्था छ । यसअघि १२ जना प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका थिए । तर पछिल्लो समय चार जनाले आफ्नो हस्ताक्षर फिर्ता लिएको स्रोतले जनाएको छ ।
हस्ताक्षर फिर्ता लिनेमा साधना राउत, लक्ष्मी श्रेष्ठ, मेनका घिमिरे र विन्दु परियार रहेका छन् । उनीहरूको नाम फिर्ता भएसँगै हाल विशेष महाधिवेशनको पक्षमा खुल्ने प्रतिनिधिको संख्या आठमा सीमित भएको छ ।
विशेष महाधिवेशनको समर्थन गर्नेमा नेपाली कांग्रेस प्यूठानका जिल्ला सभापति विष्णु गिरी, लुम्बिनी प्रदेश सांसद निमा गिरी, अमरप्रसाद भण्डारी, हुकुमबहादुर बिष्ट, धर्मबहादुर जिसी, भगवती बिष्ट, गोपाल विक र पूर्णप्रसाद कलाथोकी रहेका छन्।
प्यूठानमा नेपाली कांग्रेसको केन्द्रीय संस्थापन पक्षधर समूहको नेतृत्व लुम्बिनी प्रदेश सरकारका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) ले गर्दै आएका छन् । थापा प्यूठान प्रदेशसभा (ख) बाट निर्वाचित सांसद समेत हुन् । गगन समूहको नेतृत्व भने प्रा.डा.गोविन्दराज पोख्रेलले गरेका छन् । उनी पार्टीको केन्द्रीय सदस्य हुन् । विशेष महाधिवेशनको विषयले जिल्लामा कांग्रेसभित्र गुटगत गतिविधि थप सक्रिय बन्दै गएको देखिन्छ ।