चुनावको मुखैमा पार्टी फूटनु दुःखद्
प्रमोद पोख्रेल
सहसचिव
नेपाली कांग्रेस, प्यूठान
चुनावको मुखमा पार्टी विभाजनतर्फ उन्मुख हुनु अत्यन्तै दुर्भाग्यपूर्ण र चिन्ताजनक विषय हो । यसले नेपाली कांग्रेसको हित नगर्ने मात्र होइन, सिंगो राष्ट्र, लोकतान्त्रिक व्यवस्था तथा नेपालको संविधानसमेत जोखिममा पर्नसक्ने अवस्था सिर्जना गर्दछ । नेपाली कांग्रेसलाई कमजोर र विभाजित पार्ने उद्देश्यसहित वर्तमान समयमा देशभित्र तथा बाह्य तहबाट विभिन्न प्रकारका हस्तक्षेप र चलखेलका प्रयासहरू भइरहेको देखिन्छ ।
यस्तो परिस्थितिमा पार्टीका सम्पूर्ण कार्यकर्ताहरू संयमित, सजग र जिम्मेवार बन्नु आजको आवश्यकता हो । हामीले नेतृत्वप्रति आवश्यक खबरदारी गर्दै, संगठनलाई चौतर्फी रूपमा एकताबद्ध गराउने भूमिकामा दृढताका साथ उभिनु पर्दछ भन्ने हाम्रो स्पष्ट धारणा छ।
कांग्रेसको आधिकारीक अधिवेशन भएको छैन्, त्यो भेला मात्र हो
दिपक केसी
कोषाध्यक्ष, नेपाली कांग्रेस प्यूठान
हामी संस्थापन पक्ष, अर्थात् पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको आधिकारिक नेपाली कांग्रेस पक्षधर हौं । यस विषयमा हामी पूर्ण रूपमा स्पष्ट छौं कि हालै भएको गतिविधिलाई हामीले केवल एक भेलाका रूपमा मात्र बुझेका छौं, यो कुनै पनि अर्थमा आधिकारिक महाधिवेशन होइन । पार्टीको औपचारिक निर्णय र निर्देशनविपरीत आयोजना गरिएका यस्ता भेलालाई हामी मान्यता दिंदैनौं। पार्टीले नियमित महाधिवेशनको मिति सार्वजनिक गरिसकेको वर्तमान अवस्थामा, त्यस अगावै गरिएको कुनै पनि गतिविधि संगठनात्मक रूपमा स्वीकार्य हुन सक्दैन।
प्यूठान जिल्लामा संस्थापन पक्ष सुदृढ र सशक्त अवस्थामा रहेको छ । यस पक्षको नेतृत्व हाल युवा नेता तथा लुम्बिनी प्रदेश सरकारका शहरी विकास तथा खानेपानी मन्त्री माननीय रोज राणाले गरिरहनु भएको छ । माननीय राणाले ३२ वर्षपछि निर्वाचनमा विजय हासिल गर्दै नेपाली कांग्रेस प्यूठानको राजनीतिक साख र विश्वास पुनःस्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको छ । प्यूठानमा देखिएका अस्थायी समूह वा गुटगत प्रवृत्तिहरू छिट्टै पार्टीको मूलधारमा फर्किने विश्वास हामीले लिएका छौं ।

एक अर्कामाथी उत्रने काम नगरौँ
देवेन्द्र वर्मा
उपसभापति, नेपाली कांग्रेस प्यूठान
यतिबेला नेपाली कांग्रेसका कुनै पनि कार्यकर्ता हतोत्साही हुने समय होइन । यो समय एक–अर्कामाथि आरोप–प्रत्यारोप गर्ने होइन, एकताबद्ध भएर पार्टीलाई बलियो बनाउने हो। पक्ष–विपक्षमा लागेर गालीगलौज र टिकाटिप्पणी गर्नु हाम्रो संस्कार होइन । छिट्टै हाम्रा नेताहरूले एकताबद्ध नेपाली कांग्रेसको स्पष्ट र सकारात्मक सन्देश हामी कार्यकर्तामाझ ल्याउनुहुनेछ भन्ने पूर्ण विश्वास छ । एकता नै हाम्रो शक्ति हो ।
देउवाको आशामा राजनीतिको ‘दोकान’ थाप्नेहरूको युग सकियो
नेत्रमणी पोख्रेल
संयोजक, तरुण दल प्यूठान
बहुमत महाधिवेशन प्रतिनिधिको प्रत्यक्ष प्रतिनिधित्वबाट हालै सम्पन्न दोस्रो विशेष महाधिवेशन पूर्णतः वैधानिक छ, र त्यसबाट निर्वाचित केन्द्रीय कार्यसमिति नै नेपाली कांग्रेसको आधिकारिक पार्टी नेतृत्व हो । निवर्तमान पार्टी सभापति शेरबहादुर देउवाको नाममा राजनीति गर्ने, उनको आशामा बसेर राजनीतिको ‘दोकान’ थाप्नेहरूको युग अब अवश्य अन्त्य भएको छ । देउवा आफैँमा खराब नेता होइनन्, तर आफ्नो वरिपरि सही, सक्षम र इमानदार मानिसहरू राख्न नसक्नु नै उनको सबैभन्दा ठूलो कमजोरी सावित भयो। मैले प्युठान जिल्लामा को कता छ भन्ने भावनात्मक आधारमा कुनै पक्षको समर्थन गरेको होइन।
पार्टी, कार्यकर्ता, देश र जनताको भावना तथा समयको मागलाई सम्बोधन गर्न सक्ने आवश्यकतालाई हेरेर यो परिवर्तनको समर्थन गरेको हुँ । ‘जेन–जी’ विद्रोहपछि राजनीतिक दलहरूमा पुस्तान्तरण भएको हेर्न चाहने आम जनताको चाहना तीव्र रूपमा बढेको थियो। यदि पुराना दलहरूले समयमै आत्मसमीक्षा र सुधार गर्न नसकेको भए, निर्वाचनपछि अस्तित्वकै संकटमा पर्न सक्ने अवस्था थियो। नेपाली कांग्रेस त्यो ऐतिहासिक गल्ती गर्ने पक्षमा कदापि छैन। अब नयाँ नेतृत्वको काँधमा ठूलो जिम्मेवारी छ। असन्तुष्ट पक्षलाई पनि छिटोभन्दा छिटो समेट्दै, पार्टीलाई एकढिक्का बनाएर कार्यकर्ता र जनताबीच नयाँ ऊर्जा, आशा र विश्वासको सञ्चार गर्दै चुनावी मैदानमा उत्रनु आजको प्रमुख दायित्व हो ।
पूर्व महामन्त्रीद्धयप्रति नेवीसंघ प्यूठान सम्मान व्यक्त गर्दछ
कल्याण विक्रम केसी
अध्यक्ष, नेपाल विद्यार्थी संघ प्यूठान
समय र परिस्थितिको वस्तुगत मूल्याङ्कनका आधारमा सम्पन्न गरिएको विशेष महाधिवेशन पूर्ण रूपमा औचित्यपूर्ण र आवश्यक रहेको हाम्रो ठहर छ । यस्तो संवेदनशील अवस्थामा संगठनलाई सही दिशा दिन निर्णायक भूमिका निर्वाह गर्नुहुने हाम्रा महामन्त्रीद्वयप्रति प्यूठान जिल्ला नेपाल विद्यार्थी संघ हार्दिक सम्मान प्रकट गर्दछ । हालै सम्पन्न विशेष महाधिवेशन कानुनी, वैधानिक तथा संगठनात्मक दृष्टिले पूर्णतः मान्य रहेको छ।
यस महाधिवेशनले संगठनभित्रको नेतृत्व हस्तान्तरण तथा पुस्तान्तरणको ऐतिहासिक आवश्यकता र भावनालाई सही अर्थमा सम्बोधन गर्दै, नेपाल विद्यार्थी संघलाई नयाँ ऊर्जा र दिशातर्फ अग्रसर गराएको छ। प्यूठान जिल्ला नेपाल विद्यार्थी संघ उक्त विशेष महाधिवेशनको मूल मर्म, भावना र सन्देशलाई आत्मसात गर्दै, संगठनप्रतिको आफ्नो जिम्मेवारी एकमन–एकताका साथ इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछ। साथै, केन्द्रमा निर्वाचित गगन थापाको नेतृत्वमा रहेको टिमप्रति प्यूठान जिल्ला नेपाल विद्यार्थी संघ पूर्ण रूपमा एकताबद्ध रहेको स्पष्ट पार्दछ ।