प्यूठान : नेकपा (एमाले)ले प्रतिनिधीसभा सदस्यका लागि एकमात्र निर्वाचन क्षेत्र रहेको प्यूठानमा सूर्य थापालाई उम्मेदवार बनाएको छ । शनिवार भएको निर्णय अनुसार थापा प्यूठानका लागि उम्मेदवार बनेका हुन् । एमाले प्यूठानले उनको मात्र एकल नाम सिफारिस गरेको थियो ।
थापा निवर्तमान संघीय सांसद् हुन् । उनले २०७९ को निर्वाचनमा ४१ हजार १ सय १८ मत लिएर विजयी भएका थिए । देशभर ४० हजार बढी मत लिएर विजयी हुने सांसद्मध्ये थापा उत्कृष्ट दशमा पर्छन् । त्यसबेला थापाले पाँचदलीय गठवन्धन हुँदा पनि भारी मतले चुनाव जितेका थिए ।
पार्टी केन्द्रदेखि संघीय सांसद्मा प्रष्ट विचार राख्ने थापा प्रभावशाली नेताको रुपमा परिचित छन् । संघीय सांसद्मा उनको प्रतिनिधित्वले प्यूठानको विकास निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको प्यूठानका मतदाताहरु सुनाउँछन् । थापा एमालेको ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । उनी यसअघि एमालेको पोलिटब्यूरो सदस्य हुन् ।