प्यूठान : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) प्यूठानले जिल्लाभर चुनावी गतिविधि तीव्र पारेको छ । उम्मेदवारी दर्ता भएसँगै पार्टीले संगठन परिचालन, कार्यकर्ता भेटघाट र रणनीतिक छलफललाई प्राथमिकतामा राख्दै अभियान अगाडि बढाएको जनाएको छ ।
एमाले प्यूठानले पछिल्ला दुई दिनमा जिल्लाका ६ वटा पालिकामा पुगेर पार्टीका पालिका, वडा तथा टोलस्तरीय कमिटीका पदाधिकारी र अगुवा कार्यकर्तासँग छलफल गरेको छ। पहिलो दिन स्वर्गद्वारी नगरपालिका, माण्डवी गाउँपालिका र सरुमारानी गाउँपालिकामा पुगेर आन्तरिक छलफल गरेको छ भने दोस्रो दिन ऐरावती गाउँपालिका, मल्लरानी गाउँपालिका र प्यूठान नगरपालिकामा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया गरिएको प्रचार विभागले जनाएको छ ।
छलफलका क्रममा संगठनलाई थप सक्रिय बनाउने, निर्वाचन केन्द्रित जिम्मेवारी बाँडफाँड गर्ने तथा स्थानीय तहसम्म पार्टीको प्रभावकारी उपस्थिति सुनिश्चित गर्ने विषयमा जोड दिइएको छ। पालिका कमिटीलाई केन्द्रमा राख्दै वडा र टोल तहसम्म अभियान विस्तार गर्ने निर्णय गरिएको एमाले प्यूठानका उपसचिव इश्वरा आचार्यले जानकारी दिईन ।
यस निर्वाचनका लागि नेकपा (एमाले)ले निवर्तमान प्रतिनिधिसभा सदस्य सूर्य थापालाई उम्मेदवारका रूपमा अघि सारेको छ। अघिल्लो कार्यकाल अधूरै रहँदा रोकिएका विकास निर्माणका योजनालाई निरन्तरता दिन पार्टीलाई विजयी गराउनुपर्ने आवश्यकता रहेको एमालेको धारणा छ ।
एमाले प्यूठानका अध्यक्ष विजय बिराज विष्टले वर्तमान राजनीतिक परिस्थितिमा मुलुकको स्थायित्व, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा महत्वपूर्ण चुनौतीका रूपमा रहेको बताए । उनले देशलाई अस्थिरतातर्फ धकेल्ने गतिविधिहरूविरुद्ध सचेत रहँदै विकास र समृद्धिको बाटो रोज्न मतदाताले विवेकपूर्ण निर्णय लिनुपर्ने धारणा व्यक्त गरे ।
पार्टीले आगामी दिनमा घरदैलो, जनसम्पर्क तथा चुनावी कार्यक्रमलाई थप तीव्र बनाउँदै निर्वाचनसम्म निरन्तर अभियान सञ्चालन गर्ने जनाएको छ ।