बुटवल : युवा खेलाडीहरुलाई प्लेटफर्म दिने उदेश्यका साथ रुपन्देहीमा यु–१७ अन्तर एकेडेमी जिल्लास्तरीय क्रिकेट प्रतियोगिता शुरु भएको छ । स्टार क्रिकेट एकेडेमीको आयोजनामा आईतबार भएको उद्घाटन खेलमा देवदह क्रिकेट क्लबले विजयी शुरुवात गरेको छ । देवदहले जेआर क्रिकेट एकेडेमीलाई ७ बिकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
देवदह खेलमैदानमा भएको प्रतियोगितामा टस जितेर जेआर क्रिकेट एकेडेमीले ब्यटिङ्ग रोज्दै ३६.२ ओभरमा १२५ रन बनायो । जेआरका लागि रोजन कुमालले २७ बलमा २८ तथा कृष्ण पन्थीले ५४ बलमा ३५ नटआउट रन जोडे । देवदहका प्रिन्स शर्माले ३ तथा राहन कुवर र राहित कटुवालले समान २–२ बिकेट लिए ।
मध्य लक्ष्य पछ्याएको देवदहले २४.२ ओभरमा विजयी भयो । देवदहका सुप्रिम सुनारले ३७ बलमा ६७, आयुष पाण्डेले ४१ बलमा १९ तथा रोहित कुवरले ४३ बलमा १३ रनको योगदान दिए । जेआरका विनय जिसीले २ बिकेट लिए । खेलमा देवदहका सुप्रिम सुनार प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
प्रतियोगिताको एक समारोहका बिच वडा न ७ वडाअध्यक्ष कृष्ण अधिकारीले उद्घाटन गर्दै क्रिकेट खेलको क्रेजलाई बढावा दिने गरि प्रतियोगिता आयोजना जरुरी रहेको बताए ।
कार्यक्रममा स्मृति सामुदायिक वनका अध्यक्ष भरत गुरुङ्ग, देवदह बुद्ध पब्लिक आवासिय माबिका प्रधानाध्यापक कृष्ण गैरे, देवदह प्रेस क्लबका अध्यक्ष विष्णु पोखरेल, जिआर क्रिकेट एकेडेमीका डाइरेक्टर गंगाराम सुनार, पूर्व नेपाली क्रिकेट खेलाडी तथा प्रशिक्षक शक्ति गौचनले क्रिकेट खेल विकासमा पूर्वाधार अभाव रहेको दुखेसो गर्दै सरकारबाट यसमा ध्यान दिनुपर्ने बताए ।
खेलाडी छनौट गर्ने गरि लिग आधारमा प्रतियोगिता आयोजना भएको पूर्व नेपाली क्रिकेट खेलाडी तथा प्रशिक्षक शक्ति गौचनले बताए । खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई आगामी दिनमा यस क्षेत्रबाट हुने प्रतियोगितामा अवसर दिने उनले बताए । रुपन्देही र नवलपरासीसहित विभिन्न जिल्लाका गरि ६ वटा टिममा ९० जना खेलाडीहरु सहभागी भएका छन ।