प्यूठान : जनता दल प्यूठानका उम्मेदवार विमल पोख्रेलले नेपाली कांग्रेसका उम्मेदवार डा–गोविन्दराज पोखरेलमाथि अव्यवहारिक र तथ्यहीन आश्वासन दिएको आरोप लगाएका छन्। डा–पोखरेलले फेसबुकमार्फत प्यूठानमा वार्षिक कम्तीमा २० लाख पर्यटक ल्याउने योजना सार्वजनिक गरेपछि पोख्रेलले त्यसको कडा आलोचना गरेका हुन् ।
पोख्रेलका अनुसार नेपालमा सन् २०२५ मा जम्मा ९ लाख ८२ हजार ५६१ विदेशी पर्यटक मात्र आएका छन्। यस्तो अवस्थामा एक जिल्लामै २० लाख पर्यटक ल्याउने दाबी वास्तविकताबाट टाढा रहेको उनको भनाइ छ। हालको भौतिक पूर्वाधारले प्यूठानले दैनिक करिब १५० जना मात्र पर्यटक धान्न सक्ने भन्दै, वार्षिक क्षमता करिब ५४ हजार मात्रै हुने उनको दाबी छ। जबकि २० लाख पर्यटक ल्याउन दैनिक ५ हजार ४ सय ८० जना पर्यटक प्यूठान आउनुपर्ने गणित उनले प्रस्तुत गरेका छन् ।
उनले उदाहरण दिँदै भनेका छन्, नेपाल आउने कुल पर्यटकमध्ये करिब ४० प्रतिशत पोखरा जाने भए पनि, अन्तर्राष्ट्रिय विमानस्थल, चार लेन सडक, पाँचतारे होटलजस्ता पूर्वाधार हुँदाहुँदै पोखरामा वार्षिक करिब ४ लाख पर्यटक मात्रै पुग्ने गरेका छन् । यस्तो अवस्थामा पूर्वाधारविहीन प्यूठानमा २० लाख पर्यटक ल्याउने दाबी हास्यास्पद भएको उनको आरोप छ ।
पोख्रेलले बीबीसीको सन् २०२५ अक्टोबर ६ को रिपोर्ट उद्धृत गर्दै, नेपालले दशकौंको प्रयासपछि पनि वार्षिक १० लाख हाराहारीमा मात्र पर्यटक भित्र्याउन सकेको उल्लेख गरे। ’सिङ्गो देशले यत्रो लगानी गर्दा पनि नसकेको लक्ष्य एक जिल्लाले कसरी पूरा गर्छ ?’ भन्दै उनले प्रश्न उठाएका छन् ।
यसअघि पनि चाल्नेटार विमानस्थलजस्ता योजना झुट्टा आश्वासनमै सीमित भएको स्मरण गराउँदै, उनले डा–पोखरेलले वामदेव गौतम शैलीको गफ दिन थालेकोमा दुख व्यक्त गरे । प्यूठानी नागरिकलाई सही जानकारी गराउनु आफ्नो कर्तव्य भएको भन्दै, उनले झुट्टा आश्वासनको भण्डाफोर गरिरहने चेतावनी समेत दिए ।