प्यूठान : प्यूठानी जनताको मन जित्ने पार्टी नेकपा एमाले मात्र भएको प्रतिनिधीसभा सदस्य उम्मेदवार सूर्य थापाले बताएका छन् । शनिबार सरुमारानी गाउँपालिका – ४ बड्डडाँडामा आयोजित वडास्तरीय युवा भेला तथा पार्टी कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने, ‘अरूलाई चुनाव कसरी जितौं भन्ने लाग्न सक्छ । तर एमालेले प्यूठानी जनताको मन, दिल, विश्वास र भरोसा जितेकै कारण पुन ः विजेता बन्दै विजयी शक्तिको रूपमा आफूलाई स्थापित गर्नेछौं ।’
अढाई वर्षमै संविधानका सबै सीमा मिचेर असंवैधानिक ढङ्गबाट संसद् विगठन गरि निर्वाचन थोपरिएको उनले बताए । प्यूठानी जनताको सच्चा शक्ति एमाले भएको कारण एमाले पुनः जनतामाझ अनुमोदित भएर प्राप्त जनादेशलाई नबिकृत गर्ने कामको सुरुवात सरुमारानीबाट गरिएको उनले बताए ।
जिल्लाको ९ वटै स्थानीय तह र ६४ वटै वडामा पुगी मतदातालाई सचेत गराउँदै सूर्य चिन्हको पक्षमा सिंगो जिल्लाभर जनलहर सिर्जना गरिने उनले बताए । नयाँका नाममा जिल्लाको चौतर्फी विकासमा सिंको नभाचेकाहरुले धाकधक्कु लगाएको उनले बताए । ‘अहिले समाजमा नयाँ र पुरानाको कुरा गर्न थालिएको छ’, थापाले भने, ‘वृद्ध भत्ता, एकल महिला भत्ता, सुत्केरी भत्ता, घर–आगनमा जन्मिने बच्चालाई स्वास्थ्य चौकीमा प्रजनन व्यवस्था मिलाउने लगायत अन्य सामाजिक सुरक्षा भत्ता दिने पार्टी पुरानो हुने अरु नयाँ हुने कुरा कसले पत्याई दिने ? उनले प्रश्न गरे ।
भालुवाङ – प्यूठान मोटरबाटोलाई ददेरी देखि खलंगासम्म डबल लेन बनाउने कामको सुरुवात अन्तर्गत गता कार्यकाल देखि बजेटको प्रबन्ध गर्दै अहिले ठाउँमा ठाउँमा मोड कटिङ्ग, सडक सुरक्षाका कामहरू अघि बढिरहेको उनले दाबी गरे । सरुमारानी गाउँपालिका एमालेको लालकिल्ला भएको बताउँदै थापाले वडा नं ४ मा एमालेको विपक्षमा अरु पार्टी करिब–करिब नभएको बताए ।
संसद्मा पहिलोपटक सिंगो देशले सुन्ने गरी प्यूठान गञ्जेको बताउँदै उनले जिल्लाको चौतर्फी विकासमा इमानका साथ काम गरेको स्मरण गरे। घोषित प्रतिबद्धता पूरा गर्न अधूरा विकास निर्माणका कामहरु टुंगोमा पुर्याउने पुनः एमालेलाई विजयी बनाउने अभिभारा प्यूठानी जनतामाझ आएको उनले बताए ।