प्यूठान : प्यूठानको गौमुखी गाउँपालिका – ६ लिबाङमा वैवाहिक अविश्वासबाट सुरु भएको घरेलु विवादले भयावह रूप लिँदा एक १९ वर्षीया युवतीको निर्मम हत्या भएको छ। आफ्नै श्रीमान् र देवरको योजनाबद्ध आक्रमणबाट शर्मिला घर्तीले ज्यान गुमाएको खुलेपछि घटनाले सिंगो गौमुखी क्षेत्रलाई स्तब्ध बनाएको छ ।
प्रहरीका अनुसार २० वर्षीय अनिल घर्तीले आफ्ना १८ वर्षीय भाइ जनक घर्तीको सहयोगमा श्रीमती शर्मिलाको हत्या गरेका हुन्। दुई वर्षअघि मात्र प्रेम विवाह गरेका अनिल र शर्मिलाबीच पछिल्लो समय शर्मिलाको अन्य पुरुषसँग सम्बन्ध रहेको आशंकालाई लिएर पटक–पटक विवाद र झगडा हुँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्यूठान प्रहरी प्रमुख डिएसपी नरहरी अधिकारीले बताए ।
घटना माघ १६ गते राति करिब ८ बजेतिर भएको हो। अनिल र जनकले शर्मिलालाई ‘घुम्न जाऔँ’ भन्दै घरबाट करिब ६ सय मिटर टाढा रहेको कालिमाटी गोद्रे चौरमा लगेका थिए। सोही स्थानमा श्रीमान्–श्रीमतीबीच पुनः विवाद चर्किएपछि अनिल आवेशमा आएर शर्मिलाको टाउको नजिकै रहेको फलामको रेलिङमा ठोक्क्याएका थिए ।
टाउकोमा गम्भीर चोट लागेर शर्मिला बेहोस भएपछि दुवै दाजुभाइले उनलाई नजिकैको कालिमाटी भिरबाट तल खसालिदिएको प्रहरीले जनाएको छ। भिरबाट खसाल्दा शर्मिलाको शव र उनले लगाएको स्विटर सुरुमा एउटा बाँझको रूखमा अड्किएको थियो ।
तर त्यतिमै नरोकी अनिल आफैँ भिरतर्फ तल ओर्लिएर पुनः शर्मिलालाई अझ तल धकेलेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। करिब १०० मिटर तल खसेपछि शर्मिलाको घटनास्थलमै मृत्यु भएको पुष्टि भएपछि उनीहरूले शव त्यहीँ छाडेर घर फर्किएका थिए ।
माघ १७ गते दिउँसो करिब २ बजे स्थानीयले कालीमाटी जंगल क्षेत्रमा एक महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय प्यूठानबाट खटिएको टोलीले घटनास्थल पुगेर शव बरामद गरी अनुसन्धान सुरु गरेको थियो। घटनास्थलबाट मृतकको चप्पलसमेत फेला परेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न श्रीमान् अनिल घर्ती र देवर जनक घर्तीलाई प्रहरीले नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दामा थप कानुनी प्रक्रिया अगाडि बढाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।