बुटवल : एमआरआर टीम बुटवलले स्थानीय स्तरमा सञ्चालन गर्दै आएको सामूहिक भजन कीर्तन कार्यक्रमलाई लिएर सामाजिक सञ्जालमा फैलिएका आलोचना, भ्रम तथा नकारात्मक टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
टीमले उक्त कार्यक्रम पूर्ण रूपमा निस्वार्थ, सांस्कृतिक तथा आध्यात्मिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको स्पष्ट पारेको छ । युवापुस्तालाई मौलिक कला, संस्कृति र परम्परासँग जोड्ने तथा सकारात्मक वातावरण सिर्जना गर्ने उद्देश्यले भजन कार्यक्रम आयोजना गरिएको टीमको भनाइ छ ।
एमआरआर टीमका अनुसार कार्यक्रमका लागि आवश्यक सामग्री सदस्यहरूले व्यक्तिगत लगानीमा खरिद गरेको जनाइएको छ । भजन कार्यक्रमका नाममा कसैबाट चन्दा वा आर्थिक सहयोग नलिइएको र कुनै आर्थिक कारोबार नभएको पनि उक्त टिमको दावी छ ।
कार्यक्रम हुने स्थानमा साउन्ड सिस्टम, कार्पेट लगायत आवश्यक व्यवस्थापन स्थानीय आमा समूह, टोल विकास संस्था तथा आयोजकहरूले स्वेच्छाले गरिदिने गरेको टीमले बताएको छ । टीमले रचनात्मक सुझाव र आलोचनालाई स्वागत गर्ने तर झुटा अफवाह फैलाएर युवाहरूको मनोबल गिराउने कार्य नगर्न आग्रह समेत गरेको छ । एमआरआर टीम बुटवलले आगामी दिनमा अझ व्यवस्थित रूपमा भजन कीर्तन अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।