पोखरा : गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका दुई प्रदेशसभा सदस्यले आफूहरु कुनै गठबन्धनमा सहभागी नरहेको भनी सार्वजनिक वक्तव्य दिएपछि सत्ता समीकरण नयाँ मोडमा पुगेको छ । नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दावी पेश गरेको केहीबेरमै राष्ट्रिय जनमोर्चाका ३ मध्ये २ सांसदले आफूहरु कुनै गठबन्धनमा नरहेको भनी विज्ञप्ति निकालेका छन् । सांसदहरु कृष्ण थापा र खिमबिक्रम शाहीले आफूहरु कुनै पनि गठबन्धनमा नरहेको र सरकार निर्माणका विषयमा तटस्थ रहेको उल्लेख गरेका छन् ।

सांसद पोखरेलले नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ सांसदको आफूलाई समर्थन रहेको जुन ६० सदस्यीय प्रदेशसभाको बहुमत रहेको दावी गरेका थिए ।
संविधानको धारा १६८(२) अनुसार कुनै सांसदले आफ्नो पक्षमा प्रदेशसभाको बहुमत पुर्याउन नसकेमा धारा १६८ (३) अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ । प्रदेश प्रमुखको कार्यालयले पोखरेललाई बहुमत सांसदको समर्थन रहेको दावी पेश गर्न आह्वान गर्ने र मुख्यमन्त्रीमा ठूलो दलको हैसियतमा पृथ्वीसुब्बालाई नै सपथ खुवाउने तयारी भइरहेको छ ।