प्यूठान : आसन्न नेपाली कांग्रेस प्यूठानको १४ औँ जिल्ला अधिवेशनमा वर्तमान पार्टी सचिव विष्णु कुमार गिरी र निवर्तमान पार्टी सचिव शिव प्रसाद रिजाल भिड्ने टुंगो लागेको छ । यस अघि वर्तमान पार्टी सचिव देवेन्द्र बर्माको पनि सभापतिमा उठ्ने चर्चा चलेपनि उनी उपसभापतिमा लड्ने तयारी गरेका छन् । सभापतिमा उठेका रिजाल नौवहिनी गाउँपालिका अध्यक्ष र गिरी गौमुखी गाउँपालिका अध्यक्ष हुन् ।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र गगन÷सिटौला खेमाका गिरी प्यानलले आफ्नो प्यानल सार्वजनिक गरेका छन् । उनको प्यानलबाट सचिवमा पूर्व कोषाध्यक्ष टोपाराम कालाथोकी चुनाव लड्ने भएका छन् । रिजाल प्यानलबाट उपभापतिमा हालका क्षेत्र नम्वर २ का क्षेत्रिय सभापति सरोज थापा (रोज राणा) र बद्री लम्साल मध्ये एक जना निर्वाचन लड्ने तयारी भइरहेको कांग्रेस विशेष स्रोतले जनाएको छ । सोही प्यानलबाट सचिवमा प्रमोद पोखरेलको नाम चर्चामा आएपनि अझैसम्म टुंगो लागेको छैन् । ‘हामी छलफलमै छौँ’,सभापतिका उमेदवार शिव रिजालले भने,‘केही दिनमै टुंगो लगाउछौँ ।’
कांग्रेसका जिल्लामा करिव पाँच हजार क्रियाशिल सदस्य छन् । क्रियाशिल सदस्यबाट करिब १ हजार २ सय जना क्षेत्रिय प्रतिनिधिहरू चुनिएर आउने छन् । जिल्ला कार्यसमिति ५५ सदस्यीय हुने पार्टी सचिव विष्णु कुमार गिरीले जानकारी दिए ।