प्यूठान : नेकपा एमालेका नेता एवं संविधान सभा सदस्य धन बहादुर रायमाझी एमालेमै फर्किएका छन् । उनी यसअघि माधव कुमार नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी) मा संलग्न थिए । केहि दिन अघि रायमाझीले सरुमारानी गाउँपालिकामा समेत नेकपा समाजवादीको पार्टी संगठन निर्माणमा समेत जुटेका थिए ।
उनलाई भेट्न एमाले प्यूठानका अध्यक्ष तुल्सीराम शर्मा नेतृत्वको टोली सहित सरुमारानी गाउँपालिका उपाध्यक्ष मिनाकुमारी सोमै लगायतका नेता कार्यकर्ताले भेट गरेका थिए । नेता तथा कार्यकर्ता टोलीको भेटमा नेता रायमाझीले नेकपा एमालेको नीति तथा मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादलाई छोड्न नसकिने बताउँदै एमालेमा रहने स्पष्ट पारेका हुन् ।
‘जहाँ जबज छैन त्यहाँ कुनैपनि अर्थमा बस्न सकिँदैन’, रायमाझीले भने, ‘समाजवादीमा लागेका एक जनालाई पनि नछोडी मूल घरमै फर्काउनेछौं ।’ नेता रायमाझीले २०५९ देखि २०६५ सम्म एमाले प्यूठानको तत्कालिन पार्टी सचिवको रूपमा नेतृत्व गरेका थिए । उनी अहिले एमालेको लुम्विनी प्रदेश कमिटी सदस्य छन् ।
केहि दिन भित्रै समाजवादीको जिल्ला कमिटीमा आबद्ध बहुसंख्यक सदस्यहरु मूल पार्टीमै फर्किन लागेको एमाले प्यूठानका अध्यक्ष तुल्सीराम शर्माले दाबी गरे । ‘हामी उहाँहरूसंग निरन्तर छलफलमै छौं’, शर्माले भने, ‘करिब करिब सबै कमरेडहरु छिट्टै आउने निश्चित छ ।’ पार्टीको नीति सिद्धान्त तथा वैचारिक बाटोमा कुनै मतभेत नभएकाले पार्टीको मूल नेतृत्वमै सबै गोलबन्द हुने अध्यक्ष शर्माले विश्वास व्यक्त गरे ।