प्यूठान : नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले गठबन्धन दलहरु इमान्दार नदेखिएको बताएका छन् । आईतबार बाग्दुलामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सिंहले भने,‘सत्ता साझेदार दलहरु नै गठबन्धनमा बार्गेनिङ चलाउँदै आएका छन् । एमालेसँग पनि उनिहरूको बार्गेनिङ चलिरहेको छ ।’ सिंहले राजमो गठबन्धनप्रति इमान्दार रहेको प्रतिवद्धता सुनाए । गठबन्धन नभए पनि एमालेसंग कुनैपनि हालतमा आफ्नो पार्टीले गठबन्धन नगर्ने उनले सुनाए । उनले यो पार्टीको नीति भएको बताए ।
दुईपटक संसद भंग गरेकोले एमाले प्रतिगमनको नाइके भएको उनले आरोप लगाए । ‘राजावादी शक्तिहरुसँग एमालेको साँठगाँठ छ’, सिंहले भने, ‘ओली सफल भए भने देश गम्भीर दुर्घटनामा फस्ने छ ।’ गठबन्धन दलहरुबीच खटपट उत्पन्न भएमा राष्ट्रिय जनमोर्चा एक्लै चुनावमा होमिने उनले प्रष्ट पारे । राष्ट्रिय जनमोर्चाबाट संसदीय फाँटमा नेतृत्व गरेका सांसद, मन्त्री, स्थानीय सरकारका जनप्रतिनिधिहरुले उच्च नैतिकता प्रदर्शन गरेको उनले दाबी गरे ।