बुटवल : नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं लुम्विनी प्रदेश प्रचार संयोजक सूर्य थापाले सवैलाई आश्च्र्यचकित पार्ने गरी प्रदेशको नेतृत्व निर्माण हुने बताएका छन् । प्रदेश अधिवेशनको पूर्वसन्ध्यामा शुक्रवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संचारमाध्यममा आएजस्तो एमाले लुम्विनीमा कुनै समस्या नभएको प्रतिक्रिया दिएका छन् ।
‘स्वस्थ प्रतिस्पर्धामा नेतृत्व निर्माण भयो भने तपाईहरु अच्चमित नहुनुहोला’,थापाले भने,‘यो अधिवेशन एकताको सन्देश दिने अधिवेशन पनि हो ।’ बुटवलका होटल, कटेजहरुमा गुटगत भेलाहरु भइरहेका छन् नी ? भन्ने पत्रकारको जिज्ञासामा थापाले भने,‘बुटवलमा पार्टीका अधिवेशन हुँदैछ । होटल, कटेजमा मात्र होइन्, एमाले जहाँतही भेटिन्छ । अधिवेशनले बुटवल एमालेमय बनाएको छ । यसमा त्यति धेरै शसंकित हुनुपर्ने कारण छैन् ।’
उनले परिस्थतीलाई तरंगित पार्ने गरी खवर सम्प्रेषण नगर्न पत्रकारहरुलाई आग्रह समेत गरे । ‘लुम्विनीको एमालेलाई अब कस्तो बनाउने भन्ने बारेमा साथीहरुले छलफल गर्नुभए होला’,उनले भने,‘तर, बाहिर आएजस्तो पार्टीमा कुनै गुटउपगुट छैनन् ।’ उनले अवको निर्वाचनमा एमालेलाई प्रदेशमा पहिलो पार्टीको रुपमा खडा गर्नेगरी बुटवल अधिवेशनले सन्देश प्रवाह गर्ने उनको प्रतिक्रिया छ ।
शनिवार बुटवल मण्डवस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा हुने अधिवेशनको उद्घाटन गर्न पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पार्टी उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल लगायतका नेताहरु बुटवल आउदैछन् । गाउँगाउँबाट प्रतिनिधीहरु बुटवल आउने क्रम जारी छ । १ हजार ४ जना प्रतिनिधी अधिवेशनका लागि चुनिएका छन् । अधिवेशनले बुटवलको चहलपहल बढाएको छ ।