बुटवल : हरितालिका तीजको अवसरमा लुम्बिनी केवलकार लिमिटेड बुटवलले २५ प्रतिशत छुटको अफर सार्वजनिक गरेको छ । हाल कायम रहेको टिकटमा विहिवारदेखि असोज १ गतेसम्म छुट दिने निर्णय भएको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले जानकारी दिए । संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै समूहगत रुपमा १५ जनाको समूह आउनेहरुका लागि यो छुट लागु हुने उनले बताए ।
हाल केवलकारले प्रति व्यक्ति साधारण टिकट ७ सय ५० रुपैयाँ तोकिएको छ । भारतीय नागरिकका लागि ७ सय ५० भारु र तेस्रो मुलुकका नागरिकका लागि २२ अमेरिकी डलर कायम छ ।
तीज अफरमा केवलकार चढेर टप स्टेशनमा रहेको रेष्टुरेन्टमा पनि विशेष छुटको व्यवस्था गरिएको सैंजूले बताए । कम्पनीले गत साउनदेखि भदौ मसान्तसम्मका लागि हरेक बुधबार बिहान ९ बजेदेखि १२ सम्म टिकट खरिदमा ५० प्रतिशत छुट सहित मर्निङ अफर समेत सञ्चालन गरेको छ ।
आईएमई ग्रुपको मुख्य लगानी रहेको कूल ५ अर्ब लागतको यस केबलकार लुम्बिनी प्रदेशकै पहिलो हो । बुटवलको बमघाटमा बटम स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका बसन्तपुरमा टप स्टेशन रहेको २ दशमलव ६ किलोमिटर दुरीको केबलकारको टप स्टेशनमा बनेको कामाख्या देवीको मन्दिर हिन्दु धर्मावलम्बीहरुका लागि आकर्षण बनिरहेको छ ।
टप स्टेशनमा साढे ३ अर्ब लागतमा २ वर्षभित्र सम्पन्न गर्ने गरी १ सय ५० कोठा, एक हजार जना क्षमताको बैंक्वेट हल, क्यासिनो सहित पाँच तारे होटल बनाउने तयारी भएको भएको केबलकारका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए । बुटवल क्षेत्रका लागि लुम्विनी केवलकार अहिले प्रमुख आकर्षणको केन्द्र बनेको छ ।