शिक्षक तैले राजनीति गर्नै हुन्न 
किनकी शिक्षक राजनीतिक प्राणी नै हैन
शिक्षकलाई राजनीति गर्ने अधिकार नै छैन 
शिक्षक जो नेता जन्माउँछ
समाज सिकाउँछ, देश सिकाउँछ अनि दर्शन बताउँछ 
तर ऊ राजनीति गर्न जन्मेको होइन
शिक्षक जसले  
गाउँ गाउँ र दुर्गम बस्तीमा चाहर्दै जन जनमा चेतना भर्दछ
अवोध बालबालिकाको हात समाउदै ज्योति छर्दछ
अनि समाज परिवर्तनको पाठ पढाउँछ 
तर राजनीति गर्ने हक उसलाई छैन ।
नीति बनाउने नेताहरु
शिक्षकलाई राजनीति देखि टाढा राख्छन् 
किनकी शिक्षक ज्ञानको भण्डार हो 
ऊ राजनीतिमा आयो भने 
आठ पासहरुको रोजीरोटी गुम्छ 
राजनीतिका ठेकदारहरुको धन्दा लुटिन्छ
आश्वासनको चारो हालेर, जनताको आँखामा छारो हाल्नेहरु 
करोडबाट रोडमा झर्छन 
राजनीतिलाई जागिर बनाएर खान पल्केकाहरु 
विदेश जाने राहदानी बनाउन पुग्छन्
चुनावको बेला 
चन्दाको धन्दा चलाएर, शिक्षकको गाँस खोस्नेहरु
एक एक भोटको लागि तडपिएर  
शिक्षकसँग सहयोगको गुहार मागेर रुनेहरु
आफूलाई विश्वास नगर्ने जनतालाई 
फकाउन शिक्षक खटाउनेहरु 
आज भन्दै छन् 
शिक्षक तैले राजनीति नगर
भो पर्दैन हामीलाई राजनीति गर्न 
तिमी नै गर यो फोहरी राजनीति
सत्ता तिम्रो बाउको पेवा हो 
तिमी नै भान्से बन सत्ताको 
टुक्रा टुक्रा पार नेपाल आमाका कलेजाहरु
अनि भाग लगाऊ आफन्त र नातागोतालाई
मरेको मान्छेको रगत चुस्न जुम्राले पनि छोड्छ 
तिमीले छोडेनौ नेपाल आमाको रगत चुस्न 
तिम्रो हिसाब किताव जनतासँग छ 
एक दिन अवश्य माग्नेछन् 
अनि लखटिने छौ फेरि कहिल्यै नर्फकने गरी 
तिमी नै गर भो  यो फोहरी राजनीति ।