प्यूठान : पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओली आइतवार प्यूठान आउँदै छन् । यसअघि उनी २०५२ सालमा नेकपा एमालेको जिल्ला अधिवेशनका लागि प्यूठान आएका थिए । त्यसबेला उनी पार्टीको स्थायी कमिटी सदस्यको भूमिकामा थिए । पटकपटक प्रधानमन्त्री र पार्टी अध्यक्ष हुँदा उनी किन प्यूठान गएनन् होला यसबारे उनीमाथी जिल्लाबासीले जिज्ञासा समेत राखेका छन् ।
ओली नौवहिनी गाउँपालिका प्यूठानले निर्माण गरेको नवनिर्मित प्रशासकीय भवनको उद्घाटनका लागि जाँदैछन् । नयाँबजार विजुवार जुम्रिमा समेत प्यूठानीहरुसँग साक्षात्कार कार्यक्रम राखिएको छ । लामो समयपछि पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्षको जिल्ला आवागमनले सवैमा उत्साह थपेको प्यूठानका प्रतिनिधीसभा सदस्य एवं एमाले पोलिटब्यूरो सदस्य सूर्य थापाले बताए । ओलीको प्यूठान आउने कार्यक्रमले समग्र जिल्लाको विकास निर्माणमा महत्वपूर्ण भूमिका र चासो हुने उनको विश्वास छ ।
यसअघि असोज १६ गते तय गरिएको कार्यक्रम मौसम प्रतिकुलताका कारण हेलिकप्टर आउन नसकेपछि स्थगित भएको थियो । ‘उहाँको भ्रमणले सारा प्यूठानीहरु उत्साहित छन्’,थापाले भने,‘पूर्व प्रधानमन्त्री र पार्टी अध्यक्षको हैसियतमा उहाँको जिल्ला आगामन कोशेढुंगा सावित होस् भन्नेमा हामी छौँ ।’ विहान शुरुमा स्वर्गद्धारी मन्दिर आश्रममा दर्शन र पुँजाआजा समेत ओली सहभागी हुनेछन् ।