बुटवल : यही फागुन २८ र २९ गते हुन लागेको ‘लौरेट्स एण्ड लिडर शिखर सम्मेलन’ विशेष कारण देखाउँदै लुम्बिनी प्रदेश सरकारले स्थगित गर्ने निर्णय गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले सम्मेलन स्थगित गर्ने निर्णय गरेको उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राणा) ले जानकारी दिए ।
सम्मेलनमा दलाई लामाले चीन विरुद्ध विद्रोह गरेको दिन मार्च १० देखि सम्मेलन उद्घाटन गर्ने र दलाई लामालाई समेत भर्चुअल रुपमा भएपनि उपस्थिति गराउने तयारी भएपछि चीनले गम्भीर चासो राखेको थियो । शिखर सम्मेलन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको जोडबलमा मात्र हुन लागेकाले सत्तापक्ष र विपक्ष दलले चर्को विरोध जनाएका थिए । प्रदेशसभा र संघीय सांसद्मा पनि यसको विरोध भएको थियो । संघीय सांसद् सूर्य थापाले समेत सम्मेलन रोक्न संसद्मा माग गरेका थिए ।
प्रदेश सभाका सभामुख तुलाराम घर्ती, माओवादी केन्द्रका सांसद इन्द्रजित थारु, प्रमुख प्रतिपक्षी एमालेले समेत शिखर सम्मेलन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको स्वार्थमा आयोजना गरिएको र प्रदेश सभालाई पर्याप्त जानकारी नगराइएको भन्दै गम्भीर प्रश्न उठाएका थिए ।