बुटवल : सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सुदुरपश्चिम प्रदेशका लागि नयाँ प्रदेश प्रमुखमा संविधान सभा सदस्य नजिर मियाँलाई सिफारिस गरेको छ । सरकारले देवराज जोशीलाई हटाई मियाँलाई सिफारिस गरेको हो ।
नेकपा एमालेका पूर्व केन्द्रीय कमिटी सदस्य तथा हालका सल्लाहकार समेत रहेका मियाँ २०६४ मा समानुपातिक तर्फ पहिलो संविधान सभा सदस्यको रूपमा निर्वाचित भएका थिए । २०४९ तथा २०५४ मा अर्घाखाँचीको पालीको तात्कालिन गाविस अध्यक्ष समेत रहेका मियाँ नेपाल मुस्लिम इत्तेहाद संगठनको संस्थापक अध्यक्ष समेत हुन् ।
मुस्लिम समुदायमा सादगी सरल, पाका तथा अनुभवी राजनीतिज्ञको परिचय बनाएका मियाँ २००८ साल माघ १५ गते अर्घाखाँचीको पालीमा जन्मिएका हुन् । २०४६ सालदेखि राजनीतिमा क्रियाशील मियाँ संविधान सभामा हुँदा मुस्लिम समुदायका सरोकारका विषयलाई समावेश गर्न उनको महत्वपूर्ण योगदान रहेको चर्चा गरिन्छ । हाल मियाँ बुटवल बस्दै आएका छन् ।