बुटवल : जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतबाट अवैध रुपमा लिएका विभिन्न सामग्रीहरु मंगलवार पनि बरामद गरेको छ । प्रहरीले दिनहुँ भारतीय सिमानाकाबाट अवैध रुपमा चौरीपैठारी गरी ल्याइएका दैनिक उपभोग्य र लत्ताकपडाहरु बरामद गर्दै आइरहेको हो ।
भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा एक लाख ४ हाजर ५ सय रुपैयाँ बराबरमो अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए ।
जिल्लाको कोटहिमाई गाउँपालिका वडा नं. ६ बोगडीबाट ४० किलो बैखी जातको माछा, रोहिणी गाउँपालिका वडा नं.२ लखनौटियाबाट ६ बोरा प्याज, सम्मरीमाई गाउँपलिका वडा नम्वर २ ठेकहवाबाट लत्ताकपडा, मायादेवी गाउँपालिका वडा नं. ५ लुथुवाबाट अवैध बोइलर कुखुरा प्रहरीले बरामद गरेको छ । बरामद गरिएका सामानहरु भन्सार कार्यालय बेलहिवा र पशु क्वारेन्टाइनमा पठाइएको प्रहरीले जनाएको छ ।
चार÷पाँच किलोमिटर नजिकै भारतीय सिमानाका भएकाले नेपालीहरु अवैध सामान ओसारपसारमा लाग्ने गरेको र प्रहरीको सक्रियताले दिनदिनै प्रक्राउ गर्ने गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) रंजितसिँह राठौरले जानकारी दिए ।
त्यस्तै, अवैध रुपमा ओसारपसार गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहत खटिएको प्रहरी टोलीले ३८ वटा गोरु समेत प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलवार सैनामैना नगरपालिकाको वडा नम्वर १ स्थित रानीबगियाबाट १९ वटा र सोही नगरपालिकाको वडा नम्वर ५ बुद्धनगरबाट १९ गरी ३८ वटा गोरु नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए । ‘चेकजाँचको क्रममा विना कागजात अवैध रुपमा ओसारपसार गरेको भेटियो’,राठौरले भने,‘नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बेलहिया पठाएका छौँ ।’ नियन्त्रणमा लिइएका गोरुहरु देवदहको गौशालामा राखिएको छ । दुई वटा ट्रकमा पूर्वी नेपालतिर गोरु लैजादै गरेको अवस्थामा प्रहरीले चालक सहित नियन्त्रणमा लिएको हो ।
सितगंगा नगरपालिका–५ अर्घाखाँचीका २८ वर्षिय मान बहादुर बेलबासे चलाएको ना ६ ख २३८४ नम्वरको ट्रक र गल्छी नगरपालिका–६ धादिङका २९ वर्षिय बिनय लामाले चलाएको ना ६ ख २६४५ नम्वरको ट्रक सहित चालक प्रहरीको नियन्त्रणमा छन् ।