काठमाण्डौँ : नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले पहिलोपकट काठमाण्डौँमा विद्यार्थी महोत्सव गर्दैछ । जेठ १ देखि ३ गतेसम्म भृकुटीमण्डपमा महोत्सवको आयोजना हुँदैछ । देशभर रहेका ५ सय वटा शैक्षिक संस्थाहरुबाट एक लाख विद्यार्थीहरुलाई महोत्सवमा सहभागी गराउने लक्ष्य राखिएको अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक धर्म गिरीले जानकारी दिए ।
‘हाम्रो संगठनले पहिलोपटक विद्यार्थी महोत्सव गर्दैछ’,गिरीले भने,‘देशभरका विद्यार्थीहरुलाई सहभागी गराएर विद्यार्थीको हिजोको अवस्था के थियो ? आज के छ ? र भोली के हुँदैछ भन्ने विषयमा विषय विज्ञहरुसँग छलफल र बहस हुनेछ । विद्यार्थीहरुका लागि यो अति नै उपयोगी हुने विश्वास लिएका छौँ ।’ विद्यार्थीहरुलाई देशमै केही गर्न सकिन्छ भन्ने खालको सकरात्मक सन्देश दिनका लागि पनि महोत्सव कोशेढुंगा सावित हुने उनको भनाई छ ।
देशभरका विद्यार्थीहरुका विभिन्न नविनतम प्रतिभाहरु महोत्सव स्टलमा राखिने छ । महोत्सव अविधभर निःशुल्क स्वास्थ्य शिविर, सातवटै प्रदेसबाट साँस्कृतिक एक्सपो समेत संचालन हुनेछ । विभिन्न क्षेत्रका तीन सय वटा स्टलहरु रहने छन् । सामुदायिक र सरकारी विद्यालयहरुलाई स्टल निःशुल्क रुपमा व्यवस्था गरिएको संंयोजक गिरीले जानकारी दिए । गिरीका अनुसार नेपालको शिक्षा प्रणाली, जागिरका लागि परामर्श, युवा विद्यार्थीलाई संसदीय प्रणालीबाट जानकारी लगायत विषयमा समेत सामूहिक छलफल गरिनेछ । महोत्सव अवधिभर दिउँसो तीन बजे देखि साँझ सात बजेसम्म सांस्कृतिक कार्यक्रम समेत संचालन हुनेछ ।
महोत्सवमा विद्यार्थी आन्दोलनलाई रचनात्मक गतिविधिसँग जोड्ने, विद्यार्थीको बहुआयामिक प्रतिभालाई उजागर गर्ने, युवामा रहेको कला, संस्कृति, सूचना प्रविधि र विज्ञानमा विद्यार्थीका कामका बारेमा पनि जानकारी गराइने आयोजकले जनाएको छ ।