काठमाण्डौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फौजदारी अभियोगमा कैलाश सिरोहिया पक्राउ पर्दैमा लोकतन्त्र खतरामा नपर्ने प्रष्ट पारेका छन । गृह जिल्ला झापामा बिहीबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एक जना मिडिया हाउसका सञ्चालक पक्राउ गर्दैमा लोकतन्त्र खतरामा पर्यो भन्ने कुरा दुनियाँका लागि मजाकको बिषय बनेको बताए ।
उनले भने, ‘सिरोहियाको पक्राउ सही हो वा गलत हो भन्नेबारे र उहाँलाई पक्राउ गर्ने समय ठीक भयो कि भएन भन्नेबारे म कुनै टिप्पणी गर्दिन,’ ओलीले भने,‘तर उहाँ समाचारको कारण नभई अन्य कारणमै पक्राउ पर्दा लोकतन्त्र खतरामा पर्दैन् । सञ्चारका हकहरु खोसिदैन । कसैले पनि यस्तो गलत व्याख्या गर्न हुन्न ।’
कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ पर्नुलाई सरकारले सञ्चारको हक खोसेको अर्थमा बुझ्न नहुने पनि उनले बताए । उनले सिरोहिया कुनै समाचार प्रकाशनको विषयमा नभई सरकारले फौजदारी विषयमा छानबिन गर्नुपर्ने देखेर पक्राउ गरेको कारण डेमोक्रेसी खतरामा पर्यो भनेर कुतर्क गर्न नहुने बताए ।