गुल्मी : नेकपा (एमाले) गुल्मीको अध्यक्षमा बालसिँह काउछा विजयी भएका छन् । राती अवेर सम्पन्न मतगणना अनुसार काउछा ३ सय ८४ मत लिएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी हिरा एसीले २ सय २ मत लिए । उनीहरुबीचको मतान्तर १ सय ८२ भएको छ । काउछा दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । कार्यकाल तीन वर्षको हुनेछ ।
उपाध्यक्षमा जीवन खरेलले ३ सय ४८ मत लिएर विजयी भएका छन् । प्रतिस्पर्धी गणेश श्रीपालीले २ सय १२ मत लिए । उनीहरुबीचको मतान्तर १ सय ३६ भयो । सचिवमा धर्म बिश्वकर्मा ३ सय ७१ मत लिएर विजयी भएका छन् भने प्रतिस्पर्धी पदम अर्यालले १ सय ९० मत लिए । मतान्तर १ सय ८१ भएको छ । उपसचिवमा चक्रबन्धु भुसालले ३ सय ४८ मत लिएर विजयी भएका छन् । प्रतिस्पर्धी ओम कार्कीले २ सय १६ लिएर वियी भए । मतान्तर १ सय ३२ भएको छ । समावेशी उपसचिव लक्ष्मी पन्थ सर्वसम्मत चुनिएकी थिइन् । निर्वाचनमा ५ सय ९५ मत खसेको थियो । कुल मतदाता ६ सय १३ जना थिए ।

पार्टीको सदरमुकाम तम्घासमा सम्पन्न १२ औँ जिल्ला अधिवेशनले पदाधिकारी सहित अधिकांश पदमा निर्वाचन गरेर नयाँ जिल्ला कमिटी चयन गरेको एमाले गुल्मी इन्चार्ज एवं पोलिटब्युरो सदस्य सूर्य थापाले जानकारी दिए ।
नयाँ नेतृत्वका लागि शिर्ष नेतृत्वले गरेको सहमतीको प्रयास असफल भएपछि निर्वाचन भएको हो । तीन दिनदेखि नेताहरु सहमतीमै नेतृत्व चयन गर्नका लागि प्रयास गरेका थिए । सहमतीमै नेतृत्व चयनका लागि पार्टीका केन्द्रीय उपमहासचिव प्रदिप ज्ञवाली, केन्द्रीय सचिव एवं गुल्मी क्षेत्र नम्वर २ का प्रतिनिधीसभा सदस्य गोकर्ण विष्ट, केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल र पोलिटब्यूरो सदस्य एवं गुल्मी इन्चार्ज सूर्य थापाले सहमतीका लागि जोडबल गरेका थिए ।
केन्द्रीय राजनीतिमा समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने नेताहरुको जिल्ला भनेर चिनिने गुल्मीमा एमालेको नयाँ नेतृत्व चयन धेरैको चासोको विषय बनेको थियो ।