पाल्पा : राज्यका हरेक संयत्रबाट संचालन गरिने विकासे योजनाहरु अहिले पनि आर्थिक वर्ष सकिनै लाग्दा समेत तछाडमछाड गरेर काम गर्ने प्रवृति जीवितै छ । अरुबेला आराम गर्ने र आर्थिक वर्ष सकिने बेलाको पछिल्लो तीन महिनामा आलटाल काम गरेर भूक्तानी लिने नेपाली सँस्कारजस्तै बनेको छ ।
तर, इच्छाशक्ति हुने हो भने परिवर्तन सम्भव छ भन्ने गतिलो उदाहरण देखाएको छ पाल्पाको बगनासकाली गाउँपालिकाले । यो गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममै राखेर असारे विकासको प्रवृतिलाई निरुत्साहित गर्ने योजना अघि सा¥यो । त्यसको परिणामस्वरुप अहिले असारको महिना शुरु हुँदा विकास होइन् भूक्तानी पनि दिने चटारो गाउँपालिकालाई छैन् ।
जेठको १५ गतेभित्रै गाउँपालिकाबाट हुने वार्षिक कार्यक्रमहरु सम्पन्न भइसके । संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान र राजश्व बाडफाँडबाटको शिर्षक बाहेक अन्यको भूक्तनी भइसकेको छ । अहिले गाउँपालिकामा भूक्तानी माग गर्नका लागि आउनेको संख्या नगन्य मात्रमा छ ।
‘पहिले यतिबेला काम गरेको भूक्तानी माग गर्न आउनेले गाउँपालिका भरिभराउ हुन्थ्यो’,प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले भने,‘तर, अहिले त्यस्तो छैन् । असारको मुखैमा तछाडमछाड गर्ने प्रवृतीलाई हामी पूर्ण रुपमा निरुत्साहित गरेका छौँ ।’
पालिकाका नौ वटै वडाहरुमा एक वडा एक प्राविधिक परिचालन, वडा वडामै पुगेर योजनाहरु सम्झौता, वडाकै प्राविधिकहरुबाट योजनाहरुको अनुगमन मूल्याङकन जस्ता कामहरुले बैशाखभित्रै सबै योजनाहरुको काम सम्पन्न भएका हुन् । सम्पन्न योजनाहरुको सम्पूर्ण विवरण वडा कार्यालय बाटै तयार पारेर गाउँपालिकामा भुक्तानीको लागी मात्र पेश गर्ने व्यवस्था मिलाएकोले उपभोक्ताहरुलाई पालिकाबाट भुक्तानीको लागि सहज उनको भनाई छ ।
उपभोक्ता समिती मार्फत झण्डै चार सय वटा र बोलपत्र आव्हान मार्फत १६ वटा योजनाहरु चालु आर्थिक वर्षमा संचालन गरिएको लम्सालले बताए । विकास निर्माणलाई दिगो बनाउनका लागि असारे विकास प्रवत्तीलाई सवै मिलेर निरुत्साहित गर्नुपर्ने उनको भनाई छ ।
असारे विकासलाई निरुत्साहित गरेर समयमै योजना सम्पन्न गर्दा सवै पक्षबाट सकरात्मक प्रतिक्रिया आइरहेको गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले प्रतिक्रिया दिइन् । ‘यो अभ्यासलाई हामी अव निरन्तर लागु गर्छौ’,चिदीले भनिन्,‘गरे हुँदोरहेछ भन्ने उदाहरण दिनसकेकोमा खुसी लागेको छ ।’ उनले असारको बेला कर्मचारी र जनप्रतिनिधीहरुलाई योजना सम्पन्न र भूक्तानीको चपेटाले धेरै तनाव गराउने गरेको अनुभव सुनाइन् ।
हतारहतारमा काम गर्दा र भूक्तानी दिन त्रुटि हुने समस्या र असारकै मुखमा धेरै लोडले नचल्ने सफ्टवेवरको समस्याबाट समेत पालिका मूक्त भएको उनले अनुभव सुनाइन् । त्यति मात्र होइन् बर्खाको बेला बाढी पहिरोको चपेटाबाट समेत पालिका मुक्त भएको चिदीको भनाई छ । असारे विकास प्रवतिलाई निरुत्साहित गर्नेको अभ्यासमा बगनासकाली गाउँपालिका देशकै पहिलो हो ।