प्यूठान : स्थानीय तहमा विनियोजन हुने पूँजीगत खर्च त्यहाँको विकास बजेट हो । प्रशासनिक कामकाजमा चालु खर्च र भौतिक पूर्वाधार सहितका विकास निर्माणमा पूँजीगत खर्च हुने गर्छ । पूँजीगत खर्च नै त्यहाँको विकासको सूचक मानिन्छ । वर्षभरी कति काम भयो ? वा जनजीविकाका सवालमा भएका विकास निर्माणहरु कति भए ? भन्ने विषयलाई पनि त्यसैले निक्र्यौल गर्छ ।
प्यूठानमा यस्तो खर्च सवैभन्दा धेरै गर्नेमा दुर्गम क्षेत्रमा रहेको नौवहिनी गाउँपालिका रहेको छ । चालु आर्थिक २०८०÷२०८१ को वित्तीय प्रगति तर्फ जिल्लाका नौ वटै स्थानीय तहलाई उछन्दै नौवहिनी पूँजीगत खर्च धेरै गर्नेमा पहिलो भएको हो । जहाँ ९६ दशमलव ११ प्रतिशत विकास बजेट अर्थात पूँजीगत खर्च भएको छ । चालुखर्च ९० दशमलव ९१ प्रतिशत छ ।
चालुतर्फ ३६ करोड ९४ लाख ४७ हजार ७७४ विनियोजन गरेकोमा ३५ करोड ५८ लाख ५२ हजार १३ रुपैयाँ निकासा भएको थियो । निकासा मध्ये ३२ करोड ३५ लाख ७ हजार ९५९ रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले जानकारी गराए । पूँजीगत तर्फ १७ करोड ४२ लाख ४२ हजार विनियोजन भएकोमा १५ करोड १० लाख ५३ हजार २६६ रुपैयाँ खर्च भएको उनले जनाए ।
उपभोक्ता समिति मार्फत सम्पन्न हुने योजनालाई बढी ध्यान दिएर काम गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए । ‘काम नहुने जस्ता देखिएका योजनालाई समयमै रकमान्तर गरेर अर्को योजना बनाई तत्काल सम्पन्न गराउने तर्फ विशेष ध्यान दिएका थियौं’,पौडेलले भने, ‘टेन्डरका कामहरूलाई समयमै सम्झौता गर्ने, अनुगमन गर्दै जाने समयमै पूर्णता गराउने तर्फ सबै पक्ष लागेका थियौं ।’
गाँउसभाले विनियोजन गरेको बजेटलाई कार्यान्वयन गर्न स्वतन्त्र रूपमा कर्मचारीलाई कार्यसम्पादन गर्ने जिम्मेवारी जनप्रतिनिधिले दिँदा पूँजीगत खर्च राम्रो गर्न सकिएको पालिका प्रमुख दिल बहादुर थापाको अनुभव छ । ‘योजना परिवर्तन, रकमान्तर गर्ने समस्या, योजनाहरूलाई स्वतन्त्र रूपमा कार्य सम्पादन गर्ने जिम्मा दिनुपर्छ’, थापाले भने, ‘अनुचित दबाब दिनु हुँदैन् ।’ कर्मचारी संयन्त्रलाई स्वतन्त्र रुपले काम गर्ने वातावरण दिनुपर्नेमा थापाले जोड दिए ।
तर, सबैभन्दा कम वित्तीय प्रगती गर्नेमा यसपटक सरुमारानी गाउँपालिका देखिएको छ । सरुमारानीले चालु तर्फ ८३.३२ प्रतिशत तथा पूँजीगत तर्फ ६९.८३ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । केही ठूला विकास निर्माणको काम समयमै सम्पन्न गर्न नसक्दा पूँजीगत खर्च कम हुन गएको गाउँपालिका प्रवक्ता चिन्त सोमैले जानकारी दिए ।
तीन वटा ठूला विकास निर्माणका योजनाहरुको काम नहुँदा खर्च हुन नसकेको सरुमारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले प्रतिक्रिया दिए ।
सुरुदेखि नै योजनाको कार्य प्रगतिबारे जानकारी लिइरहने गर्ने गरिएको ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले अनुभव सुनाए । स्थानीय स्तरमा बाधा अवरोध भए नभएको, कर्मचारीबाट हुने सहयोग समन्वयको अवस्थाबारे पनि नजिकबाटै नियाल्ने गरिएको उनको भनाई छ । वडामा संचालित हरेक विकास निर्माणको प्रगति विवरण कार्यपालिका बैठकमा छलफल गरिने भएकोले निश्चित समयसीमामै काम सम्पन्न गर्ने गराउने तर्फ सबै एकसाथ लागेकाले पूँजीगत खर्च राम्रो गर्न सकिएको शाहको बुझाई छ । यहाँ पूँजीगत खर्च ९३ दशमलव ३० प्रतिशत भएको छ ।
हेरौँ प्यूठानका पालिकाहरुको खर्च प्रगती :
पालिकाको नाम |
चालुखर्च |
पूँजीगत खर्च |
नौबहिनी गाउँपालिका |
९० प्रतिशत |
९६ प्रतिशत |
ऐरावती गाउँपालिका |
९२.८२ प्रतिशत |
९३.३० प्रतिशत |
स्वर्गद्वारी नगरपालिका |
८८.७९ प्रतिशत |
८७.४७ प्रतिशत |
माण्डवी गाउँपालिका |
८३.७२ प्रतिशत |
८३.७८ प्रतिशत |
प्यूठान नगरपालिका |
९१.९१ प्रतिशत |
८२.२४ प्रतिशत |
झिमरुक गाउँपालिका |
८७.४३ प्रतिशत |
८०.५३ प्रतिशत |
गौमुखी गाउँपालिका |
९४.६९ प्रतिशत |
७७.४३ प्रतिशत |
मल्लरानी गाउँपालिका |
|
८६.७४ प्रतिशत |
सरुमारानी गाउँपालिका |
८३.३२ प्रतिशत |
६९.८३ प्रतिशत |
स्रोत : सम्वन्धित स्थानीय तह