प्यूठान : स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) नतिजामा प्यूठानको गौमुखी गाउँपालिका सवैभन्दा कमजोर देखिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार सार्वजनिक गरेको आ.व. २०७९÷०८० को नतिजामा गौमुखी गाउँपालिकाले ६६.६० अंक प्राप्त गरेको छ ।
सोही नतिजामा नौवहिनी गाउँपालिकाले ८५ अंक प्राप्त गर्दै जिल्लाकै उत्कृष्ट पालिका बनेको छ । गाँउपालिकामा नेतृत्व दोहोर्याएका गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरी, सरुमारानी गाउँपालिकामा झग बहादुर विश्वकर्मा, ऐरावती गाउँपालिकामा नविल विक्रम शाहले नेतृत्व गरेको पालिकामा लिजा नतिजा कमजोर देखिएको पाइएको छ । नौवहिनी र गौमुखी प्यूठानका दुर्गम गाउँपालिकाभित्र पर्छन् ।
गौमुखी गाउँपालिका
ऐरावतीले ६७.५० अंक, सरूमारानीले ७७.५० अंक प्राप्त गरेको छ । त्यसैगरी झिमरुक गाउँपालिकाले ७७.७५ अंक, प्यूठान नगरपालिकाले ७२ अंक, स्वर्गद्वारी नगरपालिकाले ७६.५० अंक, मल्लरानी गाउँपालिकाले ७१.७५ अंक, माण्डवी गाउँपालिकाले ७६ अंक प्राप्त गरेको मन्त्रालयले जनाएको छ ।
नौवहिनी गाउँपालिका
मन्त्रालयले हरेक आर्थिक वर्षमा शासकीय प्रबन्ध, संगठन तथा प्रशासनको अवस्था, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाहको अवस्था, सहकार्य र समन्वयको अवस्था लगायतका विषयहरूलाई मूल्यांकनको आधार मानी नतिजा सार्वजनिक गर्ने गर्दछ ।