प्यूठान : माण्डवी गाउँपालिकाको १८ औं गाउँसभा अधिवेशन जारी रहँदा वडा नं ३ र वडा नं ५ का १० जना सभाका सदस्यले अधिवेशन बहिष्कार गरेका छन् । उनीहरूले बजेट निर्माण प्रक्रिया एकलौटी र अपारदर्शी भएको आरोप लगाएका छन् ।
वडा नं ३ का अध्यक्ष धनेन्द्र कार्कीका अनुसार गाउँपालिकाको नेतृत्वले वडाबाट योजना मागे पनि छनोट प्रक्रियामा कुनै छलफल नगरी मनपरी ढंगले बजेट तयार गरेको छ । ‘योजना छनोटमा वडाको आवाज सुन्ने प्रयासै भएन’, उनले भने, ‘छलफल र सहमतिविना एकलौटी ढंगले बजेट ल्याइएको देखिएपछि हामी सहभागी भएनौं ।’
वडा नं ५ का अध्यक्ष दुर्गा प्रसाद आचार्यले पनि समान असन्तुष्टि व्यक्त गर्दै भने, ‘स्थानीय आवश्यकता र प्राथमिकता लत्याउँदै अध्यक्ष–उपाध्यक्षले आफ्नो मनपरी योजना घुसाउने प्रयास गरेका छन् । यस्तो प्रवृत्तिविरुद्ध हाम्रो बहिष्कार हो ।’
यसबीच, अधिवेशन भने जारी रहेको छ । गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष पक्षबाट भने आधिकारिक धारणा सार्वजनिक गरिएको छैन ।