प्यूठान : नौवहिनी गाउँपालिका प्यूठानका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेल सम्मानित भएका छन् । गाउँपालिकाले गरेको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक समीक्षा कार्यक्रमको अवसरमा पौडेललाई प्रशंसापत्र र दोसल्ला ओडाएर सम्मान गरिएको हो । पौडेल विगत तीन वर्षदेखि पालिकामा कार्यरत छन् । पौडेल प्यूठानकै मल्लरानी गाउँपालिका निवासी हुन् ।
गाउँपालिकाको समग्र विकास निर्माणमा प्रशासनिक क्षेत्रबाट कुशलतापूर्वक भूमिका निर्वाह गरेको प्रशंसा गर्दै पौडेललाई सम्मानित गरिएको गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले जानकारी दिए । कुसल कर्मचारी व्यवस्थापन, सेवा प्रवाहको प्रभावकारिता, बजेट व्यवस्थापन तथा समग्र नेतृत्व क्षमताको कदरस्वरूप सम्मान गरिएको थापाले सुनाए । नौवहिनी गाउँपालिका प्यूठानको दुर्गम क्षेत्रमा पर्ने पालिका हो ।