बुटवल : लुम्विनी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा (एमाले)का केन्द्रिय सदस्य चेतनारायण आचार्य नियूक्त भएका छन् । सोमवार प्रदेश प्रमुखको कार्यालय बुटवलमा बहुमत सदस्य सहितको दाबी पेश गरेपछि प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियूक्त गरेका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम आचार्य नियूक्त भएका छन् ।
सत्तारुढ दल नेपाली कांग्रेसको साथमा आफूलाई मुख्यमन्त्री पदमा नियूक्ती गर्नका लागि आचार्यले दाबी पेश गरेका थिए । लुम्विनीमा कुल ८७ जना प्रदेशससभा सदस्य छन् । बहुमतका लागि ४४ जना सांसद् आवश्यक पर्छ । एमालेका २९ र कांग्रेस २७ जना गरी कुल ५६ जना सदस्य पुग्छ । नवनियूक्त आचार्य अर्घाखाँची १(१) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । संसदीय दलको नेताको रुपमा रुपन्देहीका लिला गिरी छन् । पार्टी केन्द्रले उपनेता आचार्यलाई एकाएक मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।
रुपन्देही तिलोत्तमा निवासी पूर्व मुख्यमन्त्री गिरी नेकपा एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल निकटका हुन् भने नवनियूक्त मुख्यमन्त्री आचार्य पार्टी महासचिव शंकर पोखरेल निकट हुन् । पौडेल र पोखरेलको लडाइँको चपेटामा गिरी परेको एमालेका नेता, कार्यकर्ताहरु प्रतिक्रिया दिन्छन् ।