बुटवल : नेकपा एमाले लुम्विनी प्रदेशको संसदीय दलको नेताबाट लिला गिरीले राजीनामा दिएका छन् । उनले दलको उपनेता चेतनारायण आचार्यलाई पार्टी केन्द्रले मुख्यमन्त्री बनाउने निर्णय सुनेलगत्तै राजीनामा बुझाएको प्रतिक्रिया दिए । ‘संसदीय दलको नेता म थिए । तर, उपनेतालाई मुख्यमन्त्री बनाउने म्यासेज मैले पाउँदावित्तिकै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा बुझाएको हुँ’,आजको पोष्टसँग कुरागर्दै गिरीले भने,‘यस्ता गतिविधीले पार्टीभित्र विग्रह ल्याउने काम भइरहेको मैले महशुस गरेको छु ।’
उपनेता आचार्यलाई मुख्यमन्त्री बनाउनका लागि दाबी पेश गर्ने र बुधवार पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रममा पनि गिरी उपस्थित भएनन् । दलको नेतालाई उछुनेर उपनेतालाई मुख्यमन्त्री बनाएकोप्रति उनले विमती जनाएका छन् । तिलोत्तमा नगरपालिका रुपन्देही निवासी गिरी पूर्व मुख्यमन्त्री हुन् । गिरी एमालेको पोलिटब्यूरो सदस्य हुन् भने आचार्य केन्द्रीय सदस्य हुन् । पार्टी केन्द्रले एक्कासी आचार्यलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।
एक्कासी दलको उपनेतालाई मुख्यमन्त्री बनाउने पार्टी केन्द्रको निर्णय विरुद्ध लुम्विनी पदेशका नेता, कार्यकर्ताहरु समेत विभाजित भएर प्रतिक्रिया दिएका छन् । गिरी पार्टीका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल निकट हुन् भने नवनियूक्त मुख्यमन्त्री आचार्य पार्टी महासचिव शंकर पोखरेल निकट हुन् । लुम्विनीमा पार्टीको शिर्ष नेता पौडेल र पोखरेलबीचको टकरावले कार्यकर्ताहरु विभाजित हुँदै आइरहेका छन् । दुई पक्षबीच खुलेरै गुटको राजनीति हुने गरेको नेताहरु प्रतिक्रिया दिन्छन् ।
पार्टी महासचिव शंकर पोखरेलले नेकपा (एमाले) को लुम्विनी प्रदेश कमिटीको अधिवेशनमा भएको पराजयलाई मुख्यमन्त्री पदसँग दाउपेच गरेको समेत एमाले नेता, कार्यकर्ताहरुको आरोप छ । ‘एक्कासी आचार्य जी को नाम आएपछि थाहाँ पाइहाल्नुभयो नी’,एक जना प्रदेश सभा सदस्य एवं एमाले नेताले भने,‘महासचिवको जोडबलमा यो सब भएको हो भन्ने कुरा लुकाउनै पर्दैन् ।’ लुम्बिनी प्रदेश राजधानीदेखि, प्रदेश सरकारको मुख्यमन्त्री लगायत पदको बाडफाँडमा पौडेल र पोखरेलबीच शक्ति संघर्ष चल्ने देखिएको छ ।