प्यूठान : नेकपा एमाले सरुमारानी गाउँपालिकाको दोस्रो अधिवेशनमा पुनः वसन्त जिसी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् । आईतबार पालिकाको सभाहल बड्डाडामा सम्पन्न अधिवेशनले जिसिको नेतृत्वमा ६१ सदस्यीय पालिका संगठन कमिटी चयन गरेको कमिटीका निवर्तमान सचिव एवं जिल्ला कमिटी सदस्य चिन्त सोमैले जानकारी दिए ।
कमिटीको उपाध्यक्षमा उम बहादुर खाम्चा, सचिव टीकाराम पल्ली, सहसचिव भीम बहादुर मर्साङगी र वसन्ता खड्का निर्वाचित भएका छन् । अधिवेशनको एमाले पोलिटब्युरो सदस्य तथा प्यूठान इन्चार्ज समेत रहेका प्रतिनिधि सभा सदस्य सूर्य थापाले उद्घाटन गरे । थापाले बडडाँडामै एमाले पालिका सचिवालयको समेत एक कार्यक्रमका बीच उद्घाटन गरे ।
अधिवेशनलाई जिल्ला कमिटी अध्यक्ष विजय विराज विष्ट, लुम्बिनी प्रदेश सभा सदस्य तुल्सीराम शर्मा, एमाले नेता हरि प्रसाद रिजाल, केन्द्रिय सल्लाहकार परिषद् सदस्य टेकुलाल गिरी, एमाले नेतृ शान्ता आचार्य, पालिका इन्चार्ज झग बहादुर विश्वकर्मा लगायतले सम्वोधन गरेका थिए । अधिवेशनमा एमाले जिल्ला कमिटीका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो । प्यूठानका नौ वटै पालिकाहरुमा अहिले नेकपा एमालेको अधिवेशन चलिहरेको छ ।