प्यूठान : प्यूठान नगरपालिकाले आगामी एसईई नतिजा सुधारका लागि नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
प्रमुख जिल्ला अधिकारी रमा आचार्य (सुवेदी) सम्मिलित अन्तरक्रिया कार्यक्रममा जिल्ला स्तरमा बनाइएको कार्ययोजना लागु गर्ने, प्रधानाध्यापकले आफ्ना अंग्रेजी, विज्ञान र गणित विषय शिक्षकसंग कार्यसम्पादन सम्झौता अनिवार्य गर्ने, नगरपालिकाले विद्यालयको नियमित अनुगमन गरी पृष्ठपोषण दिने निर्णय भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख बासु पण्डितले जानकारी गराए ।
एसईई नतिजा सुधारका लागि नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्यहरु लगायत सबै सरोकारवाला निकायहरूबीच समन्वय तथा सहकार्य हुन आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताईन ।
प्यूठान नगरपालिकामा गत वर्ष ९ सय २२ जनाले एसईई परीक्षा दिएकोमा १ सय ९० जना मात्रै उत्तिर्ण भएका थिए जसको प्रतिशत २०.६ प्रतिशत हो । यसवर्ष ८ सय २५ जनाले एसईई परीक्षामा सामेल हुन लागेको नगरपालिकाले जनाएको छ ।
आर्थिक स्रोत न्यून भएका विद्यार्थीलाई अतिरिक्त कक्षाको व्यवस्था मिलाईएको नगर प्रमुख विष्णु योगीले बताए । यसवर्ष प्यूठान नगरपालिका भित्र रहेका ११ वटा सामुदायिक विद्यालय तथा ३ वटा संस्थागत विद्यालयका विद्यार्थीले परीक्षामा सहभागी हुँदै छन् ।
गएको असोज १४ गते प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुवेदीको अग्रसरतामा बसेको जिल्ला स्तरीय सर्वपक्षिय बैठकले एसईई नतिजा सुधारका लागि कार्ययोजना बनाई पालिकास्तर हुँदै विद्यालयमा पुर्याउने निर्णय लिएको थियो । कार्ययोजनाको कार्यान्वयनको अवस्थाबारे अनुगमन गर्दै जाने जिल्ला प्रशासन कार्यालय प्यूठानले जनाएको छ ।