बुटवल : हुनतः गाउँपालिका उपाध्यक्षको भूमिका र जिम्मेवारी पालिकाको नीति कस्तो बनाउने र त्यही नीतिले सवै नागरिकको पीडामा मल्हम लगाउने प्रमुख कर्म हो । तर, सिमित स्रोत र साधनको बीचमा पालिकाको नेतृत्व गर्नेहरुले नीति बनाएर मात्रै सवै नागरिकको पीडामा मल्हम पुग्दैन् । पालिकाले असाहय र गरिब व्यक्तिहरुलाई लाखौँ खर्च व्यहोरेर उपचार गर्न सक्दैन् । सिमित बजेटकै चपेटामा सयौं नागरिकलाई उपचार गर्नु पालिकाको स्रोतले थेग्दैन् ।
पत्रकारिताको पृष्ठभूमीबाट आएका प्यूठानको झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेललाई आफ्ना पालिकाका नागरिकको पीडा टुलुटुलु हेरेर बस्न मनले मानेन् । त्यसपछि उनले उपाय निकाले अव, नागरिकको उपचार नागरिकबाटै सहयोग जुटाएर भएपनि गर्नुपर्छ । उनको त्यही जुक्तीले अहिले धेरैको गुम्न लागेको जीवन फर्किएको छ । दर्जनौं झिमरुक सहित प्यूठानका नागरिकहरुले उपचार पाएका छन् । लाखौं रुपैयाँ उपचार लाग्ने भएपनि उनले सहयोग जुटाएर नागरिकको उपचार सम्भव बनाइदिएका छन् ।
सन्तोष विकलाई उपचार गराउन रात्री बसमा प्यूठानबाट संघीय राजधानी जाँदै गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेल ।
सामाजिक सञ्जाल मार्फत सार्वजनिक अपिल गर्छन्, सहयोग गरिदिनुस् भनेर । सहयोगका लागि उनले सम्वन्धित विरामी वा उनका घर परिवारको बैंक खाता उपलव्ध गराउछन् । उनकै आग्रहलाई सवैले स्वीकार्छन र सहयोग पठाउँछन् । देश विदेशबाट उनको सहयोगी कर्ममा हातमा हात मिलाएका छन् । त्यही भएर धेरैको उपचार सम्भव बनेको हो ।
पोख्रेलले चलाएको नागरिक बचाउँ अभियानको पछिल्लो उदाहरण हो, सन्तोष विक बचाउँ अभियान । प्यूठानको झिमरुक गाउँपालिका–७ कुताका २६ वर्षिय सन्तोषका दुवै मृगौला फेल भए । साउदी अरबमा काम गर्दागर्दै मृगौला फेल भएपछि उनी जीवन मरणको दोसाधमा थिए । सात जनाको परिवार पाल्ने एक्लो जिम्मेवारी उनकै काँधमा थियो । तर, आफ्नो पैसाले उपचार गर्ने सम्भवै नहुने रोगले थलिएपछि गरिब परिवारमा जन्मिएका सन्तोषको परिवारमा बज्रपात आइलाग्यो । काठमाण्डौँ र भैरहवा पुगेर उनले भएजतिको पैसा र सम्पत्ति सके तर थप उपचार गर्न सम्भव देखिएन ।
विकको परिवारले गाउँपालिका उपाध्यक्ष पोख्रेलको साथ मागे । त्यसपछि पोख्रेलले सन्तोष विक बचाउँ अभियान चलाए । सहयोगी मनहरुले दिएको ८ लाख रुपैयाँ बोकेर उपाध्यक्ष पोख्रेल सहितको विक परिवार उपचार गर्न संघीय राजधानीमा पुगेको छ ।
भक्तपुर धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा अहिले सन्तोषको उपचार चलिरहेको छ । प्यूठानबाट रात्रीकालिन बसको यात्रा गरेर पोख्रेल सन्तोषलाई उपचार गर्न उनको परिवार सहित काठमाण्डौँ पुगेका छन । उनको अभियानमा सयौं नागरिकले देश विदेशबाट साथ र सहयोग गरेका छन् ।
सन्तोषको मृगौला प्रत्यारोपण गर्नुपर्ने छ । तर, ब्लड गु्रप परिवारको कुनै सदस्यसँग मिल्छ वा मिल्दैन् भन्ने तनावमा पोख्रेल सहित सवै परिवार थिए । सवैको रगत समूह जाँच गर्दा आमा सरस्वती सुनारको रगत समूह मिलेको छ । आमाको अंग प्रत्यारोपण गर्न मिल्ने भएको छ । उपचारका लागि जुटेको आठ लाखले मात्र पैसा पुग्दैन्, तर पोख्रेलले अस्पताल प्रशासनसँग पनि सहयोगका लागि अपिल गरेकाले सन्तोषको उपचारमा कुनै कसुर बाँकी रहने छैन् ।
‘सन्तोषको उपचार ९० प्रतिशत सफल हुनेमा हामी विश्वस्त छौं’,पोख्रेलले भने,‘बाँकी १० प्रतिशत मेडिकल विज्ञानमा कुनै प्राविधिक त्रुटी भएन भने हामी सफल हुनेछौं । भगवानसंग प्राधना गरिरहेका छौं, उनको उपचार पूर्ण रुपमा सफल हुनेछ ।’ पोख्रलले नागरिकको जीवन बचाउ अभियानमा हातेमालो गर्ने सवैलाई धन्यवाद समेत दिए ।
सन्तोष विकको परिवारसित अस्पताल परिसरमा ।
पोख्रेलकै पहलमा मल्लरानी गाउँपालिका १ प्यूठान टोड्के निवासी मधु पुनको उपचारका लागि पनि तीन लाख रुपैयाँ संकलन गरेर उपचार सम्भव बनाएका थिए । मधुको अहिले टिचिङ अस्पताल महाराजगन्जमा उपचार चलिरहेको छ ।
‘हामी जनप्रतिनिधी हौं’,पोख्रेलले भने,‘नागरिकको हरेक सुखदुःखमा साथ दिनुपर्छ । त्यही अनुसार नागरिकको जस्तोसुकै अवस्थामा पनि सँगै हुनुपर्छ भन्ने लाग्छ ।’
औषधी उपचारमा मात्र नभई पोख्रेलले झिमरुक र अन्य प्यूठानका नागरिकलाई सडक दुर्घटनादेखि जस्तोसुकै समस्यापर्दा जुनसुकै जिल्लामा पुगेर भएपनि पीडामा साथ दिँदै आएका छन् । हरेक पीडामा साथमा हुने भएकाले उनको अभियानमा आफूलाई भगनवानजस्तै लाग्ने गरेको प्रतिक्रिया आम नागरिकको छ ।