गुल्मी : भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा आफू दश मिनेट ढिला गरेको भए आन्दोलनकारीहरुले आफूलाई घरमै हत्या गर्ने गुल्मीका एमाले नेता गोकर्णराज विष्टले सुनाएपछि कार्यक्रममा सहभागी मतदाताहरु भावुक भए ।
गुल्मी निर्वाचन क्षेत्र नम्वर २ बाट उम्मेदवार बनेका विष्टले आफ्नो निर्वाचन क्षेत्र मदाने गाउँपालिकाको वडा नम्वर ३ सिर्सेनीमा आयोजित चुनावी सभामा विष्टले जेनजी आन्दोलनमा झण्डै आफ्नो ज्यान लिएको मतदातालाई सुनाए ।
‘दश मिनेट मैले ढिला गरेको भए मेरो ज्यानै लिने थिए, म आज तपाइहरुको सामु हुनेथिएन’,विष्टले भावुक हुँदै आफ्ना मतदातालाई भने,‘झिंगाको सरापले, डिंगा मर्दैन् । हामी जे सक्छौं, जनताको सेवा गर्छौ । देशका लागि सेवा गर्छौ । त्यसैका लागि हामी जन्मिएका हौं ।’
विष्टको कुरा सुनेपछि सहभागी महिला मतदाताहरुले ‘झण्डै तपाईको ज्यान खाएका थिए’, भनेपछि विष्ट आफूपनि भावुक बने । विष्टले आफू गाउँ, जिल्ला र देशको सेवा गर्न जन्मिएको र यो यात्रा अनवरत रुपमा अघि बढिरहने प्रतिवद्धता समेत सुनाए । जेनजी आन्दोलनमा विष्टको काठमाण्डौँमा रहेको नीजि निवास जलेर नष्ट भएको छ ।