प्यूठान : प्यूठानकै प्रमुख व्यापारिक केन्द्र प्यूठान नगरपालिकामा गठबन्धन दलका साझा उम्मेदवारको रूपमा गठवन्धनको तर्फबाट विष्णु योगी चुनावी मैदानमा छन् । नेकपा माओवादी केन्द्र प्यूठान नगरपालिका नगर कमिटीका अध्यक्ष समेत रहेका योगीले निकै रस्साकस्सीका बीच मेयर पदका लागि टिकट पाएका हुन् ।
हालका मेयर अर्जुन कुमार कक्षपती नै मेयरमा दोहोरिने चर्चा चलिरहेकै बेला उनलाई किनारा लगाउँदै योगीले टिकट पाए । पार्टी भित्र बौद्धिक शालिन तथा भद्र नेताको रूपमा योगीको पहिचान छ । लामो समयसम्म सक्रिय राजनीति भन्दा बढी शिक्षा क्षेत्रमा उनको क्रियाशिलता थियो ।

करिब २७ वर्ष सामुदायिक तथा संस्थागत विद्यालयमा अध्यापन गराएका योगीले पब्लिक बोर्डिङ स्कुल दाखाक्वाडीमा १६ वर्षसम्म प्रिन्सिपलको रूपमा काम गरे । अध्यापनसंगै सहकारीको क्षेत्रमा समेत जोडिन पुगेका उनी सहकारी क्षेत्रमै काम गरेको २० वर्ष पुगिसक्न थालेको छ । नव सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड दाखाक्वाडीका अध्यक्ष समेत रहेका योगी जिल्ला सहकारी संघ प्यूठानका अध्यक्ष पनि हुन् । उनी सक्रिय राजनीतिमा २०७५ बाट मात्रै प्रवेश गरेका हुन् । पार्टी भित्र योगी शान्त तथा सरल स्वभावका रूपमा परिचित छन् । खुसी र समुन्नत नगरपालिका बनाउने अभियानका लागि आफ्नो उमेदवारी रहेको उनले सुनाए ।
राजनैतिक पृष्ठभूमि :
- २०३९ सालमा अनेरास्ववियु दसौं केन्द्रिय समितिमा महेन्द्र क्याम्पस कमिटीको अध्यक्ष ।
- २०३९ देखि २०४१ सम्म प्यूठान बाँके सम्पर्क कमिटी अध्यक्ष ।
- २०५९ सालमा नेकपा एकता केन्द्र मसालको विभिन्न राजनैतिक मोर्चामा सक्रिय ।
- २०६४ मा माओवादी केन्द्रको विशेष जिल्ला संगठन कमिटीको सदस्य हुँदै २०७५ मा तात्कालिन नेकपा प्यूठानको जिल्ला कमिटी सचिवालय सदस्य तथा नगर कमिटी सचिव ।
- एमाले र माओवादी केन्द्र अलग–अलग भएपछि माओवादी केन्द्रबाट प्यूठान नगरपालिका नगर कमिटीको रूपमा सक्रिय ।