प्यूठान : प्रतिनिधिसभा सदस्यमा प्यूठानबाट नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठान इन्चार्ज सूर्य थापा विजयी भएका छन् । बुधवार राती सम्पन्न मत परिणाम अनुसार थापाले ५ हजार २ सय ७४ मतान्तरले प्रतिस्पर्धी गठवन्धनबाट उम्मेदवार बनेकी राजमोकी दुर्गा पौडेललाई पछिपार्दै विजयी भएका हुन् ।
थापाले ४१ हजार १ सय १८ र पौडेलले ३५ हजार ८ सय ४४ मत लिएका छन् । जिल्लाका नौ वटै स्थानीय तहमा गरी कुल ८८ हजार ९ सय ९८ मत खसेको थियो । नतिजाको अन्तिम घोषणा गर्न बाँकी छ । गृह जिल्लाबाट पहिलोपटक निर्वाचन लडेका सूर्य थापा पाँच दलीय गठवन्धनको चुनौतीलाई चिर्दै सफलता हासिल गरेका छन् । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र झलनाथ खनालको प्रेस सल्लाहकार भएर काम गरेका थापालाई धेरैले हक्की स्वभावको नेताको रुपमा चित्रण गर्छन् । उनी झिमरुक गाउँपालिका १ सौतामारे प्यूठान निवासी हुन् ।
जिल्लाको समग्र विकासमा ५२ बुँदे विकासका प्रतिवद्धता बोकेर थापा मतदाताको बीचमा पुगेका थिए । विकासमा जिल्लाको डिस्कार्स बदल्ने आफ्नो अठोट रहेको उनले सुनाएका छन् । ४८ वर्षिय थापाले समाजशास्त्रमा स्नातकोत्तर तह र व्यवस्थापन संकायमा स्नातक तह गरेका छन् । पार्टीको प्रचार र पर्यटन विभागको जिम्मेवारी रहेर लामोसमय काम गरेका थापा विगत तीन दशक लामो समय पत्रकारिता क्षेत्रमा पनि क्रियाशिल रहे । थापा राष्ट्रिय राजनीतिमा सिँधा पहुँच भएको नेताको रुपमा पनि चिनिन्छन् ।