बुटवल : गुल्मी छत्रकोट गाउँपालिका–३ हर्दिनेटाका जीवन पन्थ सोमवार आमा गुणाकला पन्थको जन्मदिन मनाएर कर्मथलो बुटवलतर्फ फर्किदै थिए । बुढ्यौली लागेकी आमाको ७५ औँ जन्मदिन मनाउन उनी दुई दिन अघि गाउँ गएका हुन् । तीन भाइमध्ये जीवन कान्छो हुन् । १३ वर्षदेखि बुटवलमा बस्दै आएका पन्थ राजनीतिसँगै सामाजिक काममा पनि उत्तिकै सक्रिय थिए ।
आमासँग जन्मदिन मनाएर हर्षले फर्किदै गरेका जीवनको खुसी तीन घण्टा पनि टिक्न पाएन् । मोटरसाइकलमा आउँदै गरेका पन्थ पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित झुम्सामा दुर्घटनामा परे । लु १ क २६१४ नम्वरको टिप्परले उनको लु ४४ प ५८०५ नम्वरको मोटरसाइकललाई ठक्कर दियो । गम्भिर घाइते भएका पन्थको सोमवार राती उपचारको क्रममा लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा निधन भयो । उनको शव अहिले अस्पतालमै राखिएको छ ।