
झिमरुक (प्यूठान) : गाउँपालिकामा कार्यरत दुई जना कर्मचारी सहित ६ जनामा कोरोना पोजेटिभ देखिएपछि झिमरुक गाउँपालिकाले राती १२ बजेदेखि यस क्षेत्रलाई सिल गर्ने निर्णय गरेको छ । अर्को निर्णय नहुँदासम्मका लागि आजै राती १२ बजेदेखि गाउँपालिका कार्यालय सहित वडा नम्वर ५ कार्यालय, मच्छि, ढाँड र चुँधारा क्षेत्रलाई सिल गर्ने निर्णय गरिएको हो ।
गाउँबासी सवैलाई सुरक्षित रुपमा घरमै बस्न गाउँपालिकाले आग्रह गरेको छ । गाउँपालिकाको आग्रहलाई अवेज्ञा गरेमा नियमानुसार कारवाही गरिने प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसालले बताए । गाउँपालिकाबाट प्रदान गरिने सेवा बाहेक स्वास्थ्य स्वास्थ्यबाट दिइने सेवाहरु नियमित सूचारु हुने भुसालले बताए ।
प्रादेशिक जनस्वास्थ्य कार्यालय भैरहवामा गरिएको परिक्षण अनुसार गौमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका चार जना र गाउँपालिकामा कार्यरत २ जना गरी ६ जनालाई विहिवार कोरोना पोजेटिभ देखिएको हो । संक्रमित पहिचान भएसँगै आकास्मिक बसेको बैठकले सिल गर्ने निर्णय गरेको हो ।