- बालवालिका अव नाँच्दै, गाउँदै रमाइरमाई पढ्नेछन्
माण्डवी (प्यूठान) : माण्डवी गाउँपालिकाले आफ्नो गाउँपालिका क्षेत्रभित्र रहेका २६ वटा सामुदायिक विद्यालयहरुलाई एक÷एक थान टिभी प्रदान गरेको छ । सवै विद्यालयमा संचालित वालविकास कक्षालाई प्रभावकारी बनाउने उद्देश्यले टिभी प्रदान गरिएको गाउँपालिका अध्यक्ष श्रीधर रोकामगरले जानकारी गराए ।
कम्प्यूटर हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष श्रीधर रोका र प्रमुख प्रशासकिय अधिकृत शिसिर रिजाल ।
आइतवार गाउँपालिका सवै विद्यालयका प्रधानाध्यापकहरुको सहभागीतामा टिभी हस्तान्तरण गरिएको छ । बालवालिकाहरु नियमित विद्यालय आउने र रमाईरमाई पढ्ने वातावरण मिलाउन टिभी हस्तान्तरण कार्यक्रम राखिएको अध्यक्ष रोकामगरले बताए ।
सामुदायिक विद्यालयप्रति अभिभावकहरुको चासो बढाउनका लागि पनि यसले सघाउ पु्याउने गाउँपालिकाले अपेक्षा गरेको छ । टिभी र इन्टरनेटको माध्यमबाट बालवालिकाहरुलाई प्रविधियूक्त ज्ञान दिनका लागि यसले सहज हुने विद्यालयहरुले आशा व्यक्त गरेका छन् । टिभीको माध्यमबाट बालवालिकाहरुले नाँच्दै, गाउँदै रमाइरमाई पढ्नेछन् ।
गाउँपालिकाका सवै माध्यमिक विद्यालयहरुमा इन्टरनेट जडान गरिसकिएको छ । क्रमशः अन्य विद्यालयमा पनि जडान गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकिय अधिकृत शिसिर रिजालले जानकारी गराए । टिभीसँगै एक एक थान पेन्ड्राइभ समेत प्रदान गरिएको रिजालले बताए । उक्त कार्यक्रमका लागि कुल सात लाख ५० हजार रुपैयाँ खर्च भएको रिजालले बताए ।