बुटवल : लामो समयदेखि कान्तिबाल अस्पताल काठमाण्डौँमा उपचारत भएपनि थप उपचारका लागि आर्थिक अभाव भएका मदाने गाँउपालिका गुल्मीका सात वर्षिय बालक उत्तम चन्दलाई आर्थिक सहयोग जुटेको छ ।
आर्थिक अभावले उपचार नहुने अवस्थामा पुगेका उनको परिवारलाई अग्लुङ्ग काठमाडौं सेवा समाजको समन्वयनमा बिभिन्न व्यक्तिहरुले गरेको सहयोग रकम हस्तारण गरिएको छ । पैसा नहुँदा छोराको थप उपचारमा समस्या भएको बेला सहयोग जुटेपछि उपचारको आशा पलाएको बुवा मोति चन्दले सुनाए । चन्द परिवारको घरको आर्थिक अवस्था कमजोर छ ।
बालकको उपचारै नहुने अवस्था देखिएपछि सेवा समाजका उपाध्यक्ष मनोज के.सीको सम्वन्यमा उत्तम चन्द बचाउ अभियान सञ्चालन गरिएको थियो । उक्त अभियानबाट संकलित १ लाख २० हजार रुपैयाँ चन्द परिवारलाई हस्तान्तरण गरेको छ । सहयोग हस्तान्तरणमा पुगेका समाजका कोषाध्यक्ष राजेन्द्र राउत, सदस्यहरु तारामणी चन्द, सुमन खत्री र युवराज बिष्टले थप सहयोग जुटाउन आफूहरु लागिरहेको जानकारी गराए ।
सेवा समाजका सल्लाहकार नारायण घर्ती र शुसिल चन्दको सक्रियतामा रकम संकलन भएको हो । अग्लुङ्ग काठमाडौं सेवा समाजले अप्ठ्यारोमा परेको व्यक्तिहरुलाई सहयोग गर्दै आईरहेको छ । कोभिड १९ महामारीको पहिलो चरणको लकडाउनका बेला समाजले बिभिन्न क्षेत्रका ब्यक्तिलाई सहयोग गरेको थियो ।