गुल्मी : मतदाताको आलोपालो रोजाईमा पर्दै आएका गुल्मी क्षेत्र नम्वर १ का नेताद्धय नेकपा एमालेका प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका चन्द्र भण्डारीबीच यसपाली पनि प्रतिस्पर्धा हुने भएको छ । विगत १५ वर्षदेखि उनीहरुबीच निरन्तर प्रतिस्पर्धा हुने गरेको छ । राष्ट्रिय राजनीतिमा स्वच्छ छबी बनाएका दुवै नेता नागरिकका प्रिय मानिएपनि मतदाताले एकलाई रोज्नुपर्ने बाध्यता छ । ज्ञवाली एमालेको हाल उपमहासचिव छन् भने भण्डारी कांग्रेसको केन्द्रिय सदस्य छन् ।
०५६ मा भएको संसदिय निर्वाचनमा साविकको निर्वाचन क्षेत्र नम्वर २ बाट ज्ञवाली र कांग्रेसका चन्द्र केसीबीच भएको प्रतिस्पर्धामा ज्ञवालीले चुनाव जितेका थिए । त्यसबेला ज्ञवाली संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री समेत भए । ०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनदेखि एमालेका प्रदिप ज्ञवाली र कांग्रेसका चन्द्र भण्डारीबीच निरन्तर प्रतिस्पर्धा हुँदै आएको छ ।
०६४ को निर्वाचनमा ज्ञवालीले चुनाव जिते । ०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा फेरी उनीहरुबीच नै भएको प्रतिस्पर्धामा ज्ञवालीले निर्वाचनमा हार व्यहोरे । त्यसबेला भण्डारीले चुनाव जिते । ०७४ मा फेरी ज्ञवालीले भण्डारीलाई पछिपार्दै विजय हात पारे । यसपटक उनीहरुबीच चौथो प्रतिस्पर्धा हो ।
ज्ञवाली एकपटक पर्यटन र दुईपटक परराष्ट्र मन्त्री भइसकेका छन् । पार्टीमा समेत उनी प्रभावशाली नेताको रुपमा चिनिन्छन् । निर्वाचनमा जितेर गइसकेपछि ज्ञवाली मन्त्री हुने संभावना बोलियो देखिने गरेको नेताहरुले सुनाए ।
फरक फरक राजनीतिमा भएपनि दुवै नेता मतदाताको बीचमा पुग्दा कहिल्यै गालीगलौज गर्दैनन् । उनीहरुबीच मित्रबत प्रतिस्पर्धा हुने गरेको पाइएको छ । मतदाताहरुले दुवै नेतालाई सरल स्वभावका नेताको रुपमा चित्रण गर्ने गर्छन् । जिल्लाको विकास निर्माणमा दुवै नेताको भूमिका रहेको पाइएको छ । प्राविधिक रुपमा निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता भएपनि दुवै नेताबीच जिल्लाको विकासमा सहयात्री बन्ने गरेका छन् ।
जिल्ला निर्वाचन अधिकारी मायाँ कुँवरका अनुसार निर्वाचन क्षेत्र नम्वर १ मा कुल १ लाख १९ हजार २ सय ८८ जना मतदाता छन् । त्यसमध्ये महिला ६१ हजार ३ सय ९२ र पुरुष ५७ हजार ८ सय ९६ रहेका छन् ।