गुल्मी : गुल्मीको तम्घासमा आठ वर्षपछि पूनः सिनेमा हल संचालनमा आउने भएको छ । दियो सिनेमा हल सञ्चालनमा ल्याउन लागिएको सञ्चालक बद्रीप्रकाश श्रेष्ठले जानकारी दिए । जिल्लामा सिनेमा क्षेत्रमा अत्याधुनिक प्रविधि र सुविधा सहित झण्डै एक करोड रुपैयाँ लगानीमा सिनेमा हल संचालन गर्न लागिएको श्रेष्ठले जानकारी गराए ।
हलमा एकैपटक १ सय ४ जना दर्शकहरु अट्न सक्ने क्षमता छ । भदौको अन्तिमतिर हल संचालनको तयारी गरिएको श्रेष्ठले बताए । सिनेमा हल ‘डिजिटल डल्बी साउण्ड सिस्टम’ र ‘फोरके लेजर प्रोजेक्टर’ प्रोजेक्सनमा आधारित हुनेछ । तम्घासमा यस अघि शिवशक्ति चलचित्र मन्दिर संचालन भएपनि बीचमा बन्द भएको हो ।
सिनेमा हलभित्र चमेनागृहको समेत व्यवस्था मिलाइएको छ । दैनिक पहिलो चरणमा दुई सो देखाउन सकिने छ । सिनेमा हलमा नेपाली तथा विदेशी चलचित्र प्रर्दशन हुनेछन् ।