बुटवल : नेकपा एमाले लुम्विनी प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि बुटवलमा भएको मतदानमा ९६ प्रतिशत मत खसेको छ । मंगलवार प्रदेशभरीका १ हजार ५ जना मतदातामध्ये ९ सय ६५ जनाले मतदान गरेको निर्वाचन मण्डलले जनाएको छ । मतदानमा ४० जना अनुपस्थित भए ।
आजै मतगणना शुरु हुने र संभवत राती अवेरसम्म नतिजा सार्वजनिक हुने निर्वाचन मण्डलले बताएको छ । बुटवलको चर्को गर्मीमा लाइन लागेर मतदाताहरुले नेतृत्वका लागि मतदान गरेका छन् ।

प्रदेश कमिटी अध्यक्ष सहितको पदमा प्यानलै बनाएर दुवै पक्ष चुनावमा होमिएका छन् । अध्यक्ष पदका लागि पाल्पाका राधाकृष्ण कँडेल र प्यूठानका हरिप्रसाद रिजाल प्रतिस्पर्धामा छन् । रिजाल बहालवाला केन्द्रिय सदस्य पद त्यागेर प्रदेश अध्यक्ष बन्नका लागि प्रतिस्पर्धामा होमिएका हुन् । एमालेको प्रादेशिक स्तरको यो पहिलो अधिवेशन हो ।