बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको आनन्दवन शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा ठूला तीन दल एमाले, कांग्रेस र माओवादीका उम्मेदवारलाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अध्यक्षमा विजयी भएका छन् ।
विहिवार भएको मतपरिणाम अनुसार तीन दलको गठवन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका नारायण पाठकलाई पछिपार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका ज्ञान बहादुर केसी ५० मतको अन्तरले विजयी भएका हुन् । विजयी भएका केसीले ७८ र पाठकले २८ मत लिएका छन् । १ सय ११ मत खसेकोमा सात मत बदर भएको थियो ।
विजयी भएका ३९ वर्षिय केसीको पुख्र्यौली घर झिमरुक गाउँपालिका–४ बांगेमरोठ प्यूठान हो । विजयी र पराजय भएका दुवैजना तिलोत्तमा नगरपालिका–६ दशनम्वर टोल निवासी हुन् । संस्था मातहत १२ हजार ४ सय ४७ धारा जडान गरिएको छ । नगरपालिकाको वडा नम्वर १ देखि ७ सम्मका उपभोक्ता संस्थामा आवद्ध छन् ।